दमक, माघ २५
दमक ८ स्थित झापा मोडेल इङ्गलिस स्कुलले पठन संस्कृतिको विकासमा ‘किताबका कुरा’ कार्यक्रम अघि बढाउने क्रममा शुक्रबार आठौं श्रृंखला सम्पन्न भएको छ ।
झापा मोडल साहित्यिक क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा ४ जना विद्यार्थीले आफूहरुले अध्ययन गरेका ४ पुस्तकमाथि परिचर्चा गरिएको थियो । जसमा विनम्र भट्टराईले नेपाल फ्रग, मिलन पौडेलले नेलकटर, अरिमा धिमालले जस्टिक स्टोरिज र कृतिका अधिकारीले हेलन केल्लर पुस्तक अध्ययन गर्नुभएको थियो । पुस्तक परिचर्चामा विद्यार्थीहरुले आफूहरुको अतिरिक्त रुपमा ज्ञान, सोच्ने शैली, समाजलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको र साहित्यको मर्मको आत्मसाथ भएको कुरा राख्नु भएको थियो ।
कार्यक्रममा दमक नगरको सामाजिक विकास समितिका संयोजक एवम् दमक ९ का वडाध्यक्ष कुबेरप्रसाद भट्टराईले यसखाले विमर्शले पठन संस्कृतिको विकास भई किताबको सिधा अर्थ भन्दा पनि भावार्थलाई बुझ्ने र विचारको मन्थन गर्ने क्रमको विकास हुने बताउनु भयो ।
कार्यक्रममा पत्रकार एवम् साहित्यकार उज्यालो खबरका सम्पादक भूपेन्द्रराज तिम्सिनाले सृजना क्षेत्रसँगको सामिप्यताले मनले बाँच्ने भावनाको विकास हुने र असल समाजकालागि त्यसखाले भावना आवश्यक पर्ने चर्चा गर्नुभयो ।
कार्यक्रमको संयोजन गर्नुभएका त्यहाँका शिक्षक सर्जक धनकुटे कान्छाले यसखाले पठन संस्कृतिको विकाससँगै पठनपाठनलाई थप प्रभावकारी बनाउँदै फरक तरिकाले सोच्ने र समाजको हितमा सर्वउपयोगी व्यवहार गर्ने वातावरण सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल सागर श्रेष्ठले विद्यार्थीहरुलाई सृजनशील बनाउने काममा विद्यालयले यसखाले कार्यक्रमलाई जोड दिएको उल्लेख गर्नुभयो ।









