एजेन्सी, फागुन ४
भारतको राजधानीस्थित नयाँ दिल्ली रेलवे स्टेसनमा आइतबार बिहान भएको भागदौडमा १८ जनाको मृत्यु भएको छ । प्रयागराज महाकुभ मेला जान आएका भक्तजनमा भागदौड मच्चिएको भएपनि खास के भएर भागदौड मच्चियो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।
मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र ५ बालबालिका रहेका छन् । तीमध्ये सबैभन्दा बढी ९ जना बिहारका, ८ जना दिल्ली र १ जना हरियाणाको रहेको प्रहरीले जनाएको छ । घटनामा कैंयौं मानिस घाइते भएका छन् ।
प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा अचानक भागदौड मच्चिदा किचिएर मानिसहरुको ज्यान गएको उल्लख छ ।
दिल्ली फायर सर्भिसले ४ फायर इन्जिनहरू नयाँ दिल्ली रेलवे स्टेसनमा पठाएको थियो । यसबाहेक घटनास्थलबाट एम्बुलेन्सहरुले पनि घाइतेको उद्धार गरिरहेका छन् । रेलवे पुलिस र दिल्ली पुलिसले घाइतेहरूलाई लेडी हार्डिङ्ग अस्पतालमा भर्ना गरिरहेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा मारिएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।









