समय र सन्दर्भ
मलाई केही दिनयता मात्र थाहा भयो– सामाजिक सञ्जाल अर्थात् फेसबुकमार्फत अलिक दिनपहिल्यैदेखि साथीहरू आफ्ना बालसखाहरूलाई सम्झँदै बालपनको झल्को दिइरहनुभएको रहेछ, परस्पर दुःखसुख साटिरहनुभएको रहेछ । गृहनगरको गर्विलो परि चयसँगै व्यापार व्यवसायको क्षेत्रमा उघ्रिनुभएको समकालीन मित्र हरिराज प्याकुरेलले यदाकदा भन्दै हुनुहुन्थ्यो, उति साह्रो महत्त्वका साथ लिएको थिएन । एकदिन काठमाण्डौँ बसोबासरत् मित्र पुष्पा रिजाल पौडेलले मलाई सम्झनुभयो र गोडमेल गरिएका विषयवस्तुहरू लिएर सबिस्तार सम्झानुभयो । क्रमशः साथीहरू केदारनाथ ढुंगेल, घनश्याम अधिकारी, नेत्रप्रसाद पोखरेल, टंकराज पोखरेल, मनोज कटुवाल, लक्ष्मी कार्की थपिँदै र चुलिँदै जानुभयो । म पनि सँगसँगै हेलिए, सामाजिक सञ्जालको निर्माण गरेको साझा मञ्चमा थपिएँ, क्रमशः साथीहरूसँगै उभिन थालेँ ।
अलिअलि ठट्टा गर्ने साथी चन्द्रप्रसाद कोइरालाको उमंग मनले बेलाबेलामा विभिन्न विषय शीर्षकोपर प्रस्ताव अघि सार्ने गर्दथ्यो । हामी समूहबद्ध संवादमा जुट्यौँ, सञ्जालमार्फत संगठित भयौँ र सस्वर भेटघाट गर्नुपर्ने निष्कर्षमा एकसाथ पुग्यौँ । एकातिर भेटघाट कहिले गर्ने भन्ने जिज्ञासा थियो भने अर्कोतिर त्यो बेलाका हामीमात्र भेटघाट गर्ने कि जोड बाँधिइसकेको विद्यमान अवस्था जोडी सँगसँगै लिएर भेटघाट गर्ने प्रश्नोत्तरले हामीलाई निकैबेर अलमल्यायो । कतिपयको राय यो प्रारम्भिक हुने भएकोले एक्लाएक्लै भेटघाट गरौँ भन्ने थियो भने कतिपयको गृहस्थबीचको परिचय हुने, साइनुसम्बन्ध विकासको जगमा उभिँदा परस्परमै भाउजू–बुहारी र भिनाजु–ज्वाईं आदिको पनि नातासम्बन्ध आदानप्रदान पनि हुने भएको जोडीसहित भेटौँ भन्ने राय आएको थियो । अन्त्यमा यसपटक अर्थात् भेटघाटको पहिलोपटक भएकोले एक्लाएक्लै भेटौँ भन्ने निष्कर्षमा पुग्यौँ ।
परिवेश र परिस्थिति
चाहेर पनि सबैको समय एकसाथ अनुकूल नहुँदो रहेछ ! कतिपय साथीहरू देशबाहिर हुनुहुन्छ, कतिपय गृहनगरबाहिर, कतिपय जिल्लाबाहिर, कतिपय प्रदेशबाहिर । यसमा पनि कतिपय साथीहरूको हकमा सार्वजनिक महत्त्वको बिदा कुर्नुपर्ने, कतिपयलाई आइलाग्ने पारिवारिक बन्धन व्यवस्थापनले गाह्रो पार्दो रहेछ । फागुन ७ गतेलाई भेटघाटको साइतको रूपमा मिति तय गरियो ।
कैयौँ चेलीबेटीहरू विवाहउपरान्त घर–घर जानुभएको छ । यो जन्मस्थल, अध्ययनस्थल र कर्मस्थल उहाँहरूको लागि माइतघरको आँगन भएको छ । यो आँगनमा ओतिन कहिलेकाहिँमात्र उहाँहरू आउनुहुन्छ । अवसरको खोजिमा शहरबाहिर र देशबाहिर जाने साथीहरूको हकमा पनि पथरी विरानो हुँदै गएको छ । पथरीको कोमल स्पर्शयोग्य हावापानीमिश्रित मोहसँगै उभिएका हामीलाई पथरीको माटोभन्दा प्यारो अरु के हुन सक्छ र ? उहिले हामीले देखेको, भोगेको र व्यहोरेको पथरी र यसबीचमा फेरिएको पथरीलाई नजिकैबाट अँगालो हाल्नुपर्छ । यसका दुर्बल पक्षहरू सुधार्न सहकार्य गर्नुपर्छ र सवल पक्षहरूलाई प्रचारप्रसाद गर्नुपर्छ । यसकारण पनि यसपटक पथरीलाई भेटघाटकेन्द्रको रूपमा विकास गर्ने निधोमा पुग्यौँ ।
वस्तु र वस्तुस्थिति
भेटघाटसँग जोडिएको वस्तुगत पक्ष नै मुख्य परिघटना थियो । क्रमशः हामीभित्र कहिले भेटिने, कहिले परस्पर आँखा जुधाएर कुराकानी गर्ने, कहिले मन साटिने, कहिले फुक्काफाल नाच्ने आदिको तर्कले मनमा एकखालको बाढी सिर्जना हुनथाल्यो । भेटघाटको चीर प्रतिक्षामा रहेका हामी जति हतारिए पनि, जति ब्यग्र भए पनि, जति आतुर भए पनि सञ्जालमार्फत संगठित ढंगले उर्लेको मायालु मन, सद्भाव र सहिष्णुताले भरिएको प्रेम कहिल्यै घटेन बरु क्रमशः बढ्दो मात्रामा देखियो ।
अहिले सामाजिक सञ्जालको चरम दूरुपयोग भएको पाइन्छ । घीनलाग्दा दुर्वाच्यहरू र अश्लील श्रब्यदृश्यसहित लेखनको उक्तिपरक ढंगले प्रयोग भएको पाइन्छ । हामीले यसबाट आफूलाई सधैँभरि एकदमै फरक र हर्दम पृथक राख्यौँ । हार्दिकताले आकर्षित संवादकलालाई कलात्मक ढंगले पस्कँदै परस्पर संगठित भयौँ । श्री जनता माविले दिएको शिक्षा र प्रेरणास्वरुप विकसित हाम्रो मतले यसलाई कहिल्यै अनुचित् प्रयोग गरेन, अर्थात् दूरुपयोग गरेन । परस्पर सञ्चोबेसञ्चो सोधासोधबाहेक मानव हितका पक्षमा संवाद आदानप्रदान भइरहन्थ्यो । कसैप्रति कसैको तुच्छ शब्द प्रयोग, निराधार गालिगलौज, आलोचना, कसैको प्राप्त प्रतिष्ठाप्रति खिसिट्युरी होइन बरु सम्मानभावका साथ मनोवल उठाउने अभ्यासबाट अघि बढ्यौँ । बजारमा खतप हुने सामाग्री उत्पादन गर्ने, यसलाई सम्प्रेषण गर्ने, कसैलाई निरासा तुल्याउने, कुण्ठा साँधेर कमजोर पार्ने, हतोत्साहित गर्ने, नकारात्मक सोचलाई बढवा दिनेखालका अभिव्यक्तिहरू साटासाट गरेनौँ बरु अगाध आदर र स्नेहभाव पस्कँदै ०४९ सालको ब्याचलाई एउटा सुन्दर र समृद्ध घरपरिवारको रूपमा जगाउने, हुर्काउने र बढाउने संकल्प लियौँ दियौँ ।
वनभोज भेटघाट
हामी सबैको यो साझा संकल्पको प्रतिफलस्वरुप पथरी शनिश्चरे नपा वडा नं. ३, वीरेन्द्रनगरस्थित श्री जनता माविबाट वर्ष २०४९ मा उत्तीर्ण एसएलसी ब्याचले आयोजना गरेको वनभोजमार्फत भेटघाट कार्यक्रम भव्य सम्पन्न भयो । मनोरञ्जनस्थल पहिल्याउने पंक्तिका लागि पूर्वकै मन लोभ्याउन सफल नगरको अत्यन्तै आकर्षित मनोरमस्थल झुल्के सिमसार क्षेत्रमा यो कार्यक्रम सम्पन्न भयो । कार्यक्रममार्फत यस ब्याचका हामी ५४ जना पूर्वविद्यार्थीहरू सहभागी भएका थियौँ ।
श्री जनता माविको ०४९ ब्याजबाट गृहक्षेत्र पथरीमा उपलब्ध हरिराज प्याकुरेल, केदारनाथ ढुंगेल, चन्द्रप्रसाद कोइराला, नेत्रप्रसाद पोखरेल, टंकप्रसाद पोखरेल, घनश्याम अधिकारी, तीर्थराज आचार्यलगायत पूर्वविद्यार्थीको संयोजनमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशभित्रका थुप्रै जिल्लाबाहेक काठमाण्डौँमा बसोबासरत् साथीहरूको समेत उत्साहप्रद सहभागिता रह्यो ।
३२ वर्षपछिको भेटघाट थियो यो । यो भेटघाट कसैको हकमा पहिलो थियो, कसैको बीचबीचमा भइरहेको अवस्थाको नवीकृत अवस्था मात्र थियो । कतिपय साथीहरू हजुरआमा र हजुरबुबा बनिसक्नुभएको, कतिपयको ज्यानमा शिकार ह्वात्तै बढेको वा घटेको अवस्था थियो । अलिक कम उमेर विवाह हुने भएकोले चेलीबेटीहरू धेरैजना हजुरआमा भइसक्नुभएको पाइयो । यसकारण सर्लक्कै चिन्ने, जान्ने र निर्धक्क बोल्ने कुरामा समस्या प्रकट हुन्थ्यो ।
उपस्थिति र प्रस्तुति
अनुहार सम्झने तर नाम बिर्सने, नाम सम्झने तर अनुहार हो कि होइनजस्तो हुने, हिजो पढ्दाताका कक्षागत परिवेशअनुसारको व्यक्तिको झझल्को आउने तर होला कि होइन कि जस्तो हुने बिस्मृत पक्षलाई उजागर गर्न पुराना सस्मरणसहित परिचयबाट कार्यक्रम आरम्भ भयो । पुष्पाजीको परिचय निकै बेजोड थियो । यसक्रममा उहाँको अभिव्यक्ति कलाले हामी सबैलाई एकोहोरो मात्र बनाएन, बरु मोहित र सम्मोहित तुल्यायो । हिजोको अँध्यारो छिचोल्न हामले गरेको प्रयत्न र यसको प्रतिफलस्वरुप आज प्राप्त उज्यालोका सन्दर्भहरू गर्विला र गहकिला थिए ।
कार्यक्रममा उपस्थित समकालीन सबै विद्यार्थीले आफ्ना अविस्मरणीय कथावस्तुलाई निकै रसिलो र फरासिलो हाउभाउका साथ उधृत गर्नुभएको थियो । उम्दा केही संस्मरणसहितको परिचयका क्रममा अखिलको विद्यार्थी नेताका रूपमा म युवराज बास्कोटा र नेविसंघको नेताका रूपमा शिवप्रसाद भट्टराईबीच हुने भनाभन, जुहारी, कार्यालय परिसरको तालाबन्दी आदि प्रसंग बडारोचक ढंगले आयो । यस्तैयस्तै कहिलेकाहिँ त गुरुजनले पनि वस्तुनिष्ठ पक्ष नबुझिकन दिने गर्नुभएको चड्कन पनि घतलाग्दो थियो । मेरो सर्वाधिक नजिककै साथी केदारनाथ ढुंगेलले मौका मिल्नासाथ आइतबारे बजारस्थित पौडेलको पसल पुगेर धनकुटे बिस्कुट आलोपालो खाजास्वरुप खाने गरेको पक्षलाई अभावको जीवनले व्यहोर्नुपरेको रहस्यभित्र लुकेको कथावस्तुको रूपमा प्रस्तुत गर्नुभयो । वास्तवमा यो कति मर्मस्पर्शी थियो भने हामी मन मिल्दाहरू हप्तादिनलाई एउटा समयसिम्मा बाँधेर बिस्कुट किन्ने र खाजास्वरुप खाने गर्दथियौँ । एउटा बिस्कुट आएपछि एक आँङखोरा पानी घटघट पिउन सकिन्थ्यो, भोकले भोक लाग्यो भन्ने पनि ठाउँ पाउँदैनथियो ।
प्रस्तुतिको अन्तर्य
कखराआरम्भ सँगसँगै मावि तह उत्तीर्ण गर्दासम्म बितेको आफ्नो अध्ययनकालको ३२ वर्षपछि एउटै मैदान, एउटै मञ्च र एउटै टेबुल वरिपरि भेट भएको यो पहिलो घटना हो– काठमाण्डौँबाट आफ्नो गाउँ, आफ्नो ठाउँ र बाल्यकाल व्यतीत समग्र परिवेशलाई नजिकैबाट नियाल्न आउनुभएको पुष्पा रिजाल पौडेलले लयात्मक ढंगले पस्कनुभयो । एक जोडी बाबु–आमाबाट झण्डै दर्जनजति संख्यामा भएका हामी सन्तानलाई आफ्नै निगरानीमा राखेर शिक्षादिक्षा दिन सक्नुभयो, हामी कतिपयले आफ्ना बढी २ जनालाई समेत देशभित्रै शिक्षादिक्षा दिन सकेनौँ, गरिखान सक्ने बनाएनौँ, जागिर बनाएनौँ भन्दै सन्तानदर सन्तान देशबाहिर जानेक्रमलाई रोक्नमा जोड दिनुभयो ।
विद्यालय आउँदा–जाँदा बाटामा उब्जेको खेसरी, रहारी आदि खाने गरेको, डोरी नाघी खेलेको, कबड्डि खेलेको, रुमाल लुकाइ खेलेको, कक्षागत सिकाइअन्तर्गत पाक शिक्षाअनुरुप परिकार बनाइ खाएको, आसपास खेलेको, चुँइमग बाँडेर खाएको आदि पक्षहरू अहिले सम्झँदा पनि भरखरैजस्तो लाग्ने गरेको बताउँदै काठमाण्डौँबाट आउनुभएकी कमला अधिकारी चम्लागाइँले यस्तो कार्यक्रम प्रत्येक वर्ष हुनुपर्ने माग गर्नुभयो ।
ग्रामीण जनजीवनको पहुँचमा रहेको श्री जनता मावि पढ्दाताका आफूहरू भोक, रोग, अभाव आदि पक्षसँग कठोरतापूर्वक लडेको स्मरण गर्नुहुँदै सो ब्याचका फस्टबोइ नेत्रप्रसाद न्यौपानेले यो खालको समूहगत बसाइँलाई बाक्लो र फराकिलो गर्दै लक्षित समुदाय आधारित कार्यक्रम अघि सार्नमा आफूहरूको जोड रहनुपर्नेमा धारणा राख्नुभएको थियो ।
विशेष आकर्षण
रमाइलो बटुल्न म्युजिकल चेयर्ससहित आयोजित यो कार्यक्रम आफैंमा परस्पर भेटघाट अभावको तृष्णा मेटाउने अर्थमा धेरै रमाइलो थियो झापाबाट सहभागी पूर्वविद्यार्थी मनमाया मगर र विराटनगरबाट सहभागी पूर्वविद्यार्थी वेदमाया तिम्सिना पौडेलले सस्वरमा एकसाथ बताउनुभएको थियो । कतिपय सम्झनयोग्य सन्दर्भले घरिघरि अहिले पनि घोच्ने गरेको प्रसंग कोट्याउँदा साथी वेदमायाले मलाई कार्यक्रम सकेर हिड्ने बेलामा पनि नराम्रा कतिपय पुराना कुरालाई अब चाहिँ नसम्झाउनु ल युवराज भन्दै हुनुहुन्थ्यो ।
राजनीतिक जिम्मेवारीदेखि निकै ठूलो व्यापार–व्यवसायसम्म, शिक्षकदेखि कलाकारसम्म, लेखापढीदेखि समुन्नत कृषिआधारित कृषकसम्म, वकालतदेखि सामाजिक अभियन्तासम्म, निर्माण व्यवसायीदेखि चिकित्सा क्षेत्रसम्मको स्थान ओगट्न सकेको यो ब्याच राज्यलाई चाहिने जनशक्तिको स्रोत हो, उत्पादित जनशक्तिका हिसावले यो ब्याच आफैंमा धेरै ज्ञानवान, गुणवान र धनवान रहेको सञ्चालन सहजीकरणका सन्दर्भमा तीर्थराज आचार्यले यसको फेहरिस्त पस्कनुभएको थियो ।
प्रजातन्त्र दिवस
देशले सार्वजनिक महत्त्वका साथ प्रजातन्त्र दिवस फागुन ७ मनाइरहेको थियो । राजनीतिक इतिहासमा अविस्मरणीय क्षणको रूपमा बितको यसपटकको फागुन ७ गते साँच्चिकै प्रजातन्त्रको अनुभूतिआर्जन भएको दिनको रूपमा हामीमाझ पनि गुज्रियो, असाधारण उमंग र उर्जाशील मुद्रामा बित्यो । कार्यक्रममार्फत जुटेको रायअनुसार यो खालको सहभागिता जुटाउन प्रत्येक वर्ष वनभोजसहित साझा मञ्च आयोजना गर्ने, यसलाई समूहगत छलफल र अनुभव आदानप्रदान गर्ने थलोको रूपमा विकास गर्ने, अतीतको शैक्षिक गतिविधिलाई झल्काइरहन शिक्षा र शिक्षणमैत्री कार्यक्रमहरू आयोजना गर्ने, सामाजिक नेतृत्व विकासमा योगदान गर्ने, आगन्तुक पुस्ताका लागि करियस परामर्श सञ्चालन गर्ने, आफू जन्मिएको, हुर्किएको र पढेलेखेको घरगाउँको लागि इन्करेजमेण्ट कार्यक्रमहरू आयोजना गर्ने र यसका लागि ०४९ को एसएलसी ब्याचले आफू अघि वा पछिका ब्याचमाझ पनि नेटवर्किङ गर्ने, श्री जनताबाट उत्पादित जनशक्तिलाई एउटा सूत्रमा गोलबन्द गर्न प्रयत्न गर्ने, यसलाई स्थानीय नीधिको रूपमा समाजलाई हस्तान्तरण गर्ने, बेलाबेलामा जुम मिटिङ आदि गर्ने, अरुतिरबाट पनि फिडब्याक लिने र प्राप्त फिडब्याकबाट परस्पर हाम्रो सिकाइ, नेतृत्व विकास र आपसी सम्बन्ध सुदृढ अवस्था सिर्जनाका लागि सुधारका उपायहरू अवलम्बन गर्दै जाने निधो गरेको छ ।
सम्झनाको बहाव
भौतिक बसाइँ टाढा भए पनि भानुभक्त अधिकारी झापा, शिवकुमार भट्टराई विराटनगर, सुस्मा सुवेदी सुनसरी, प्रेम ओझा झापा, सीता भण्डारी सुनसरी, गोपाल काफ्ले, चन्द्र पौडेल, माया पोखरेल गौतम, कमला पौडेल गौतम, मिरा दाहाललगायत पूर्वविद्यार्थीहरू बडोचासोका साथ कार्यक्रम आयोजनस्थलमा समयअगावै आइसक्नुभएको थियो । कार्यक्रममा ब्याचमेनहरू क्रमशः मनोज कटुवाल, लक्ष्मी कार्की, कुमार दंगाल, कविता भट्टराई, छविलाल नेपाल, प्रकाश गुरुङ, होमनाथ बराल, सावित्रा सापकोटा, पुष्पा पोखरेल, यमुना पोखरेल, कमल दाहाल, सूर्य पौडेल, बमबहादुर राईलगायत समकालीन साथीहरूको अनुपस्थिति निकै ठूलो अभाव महशुस भयो ।
आफूले पढाए बढाएका विद्यार्थीको यो उपस्थिति र सकारात्मक भाव अभिप्रेरित गतिविधिलाई नजिकैबाट नियाल्दै आउनुभएका गुरु ज्ञानेन्द्र अधिकारीले शिक्षण पेशाबाट सेवानिवृत्त भइसकेपछि तरुणतन्नेरी जाँगरका साथ उपस्थित हुनुहुन्थ्यो । उर्जा र प्रेरणास्वरुप उपस्थित रहनुहुने गुरुले अहिले पनि विद्यालय व्यवस्थापन समिति अध्यक्षको रूपमा श्री जनता माविको संरक्षणअन्तर्गत सक्रिय रहेको अर्थमा केही अपेक्षाहरू राख्नुभयो । सम्पन्न यो वनभोज तथा भेटघाट कार्यक्रममार्फत सहभागी सबैलाई भावुकमुद्रामा उभिनुभएका गुरु ज्ञानेन्द्र अधिकारीले प्राप्त उपलब्धीप्रति बधाई तथा थप बढी सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।









