कृति समीक्षा

देविका सुब्बा खवासकृत कविता संग्रह ‘समयका कणिका र रङ्ग’ पढ़ेपछि

उफ् त्यो पीडा ।आफ्ना प्रिय मान्छेदेखि छुट्टिनुको वेदना । आज पनि आलै छ छातीभित्र । – (दुई शब्द,पृ.१४)

 

देविका सुब्बा खवासको जन्म ११ नोभेम्बर १९६१ को दिन तकदाह केन्टोमेन, लोवर होम बस्ती, दार्जीलिङमा भएको हो । उहाँका पिता मोहनसिंह सुब्बा र माता दिलमाया सुब्बा हुनुहुन्छ । साहित्यिक परिवेशमा हुर्कनुभएकी देविकाले आफ्नो साहित्यिक यात्रा निरन्तर अघि बढाउनुभयो । उहाँका श्रीमान् मणि खवास स्वयंम् प्रख्यात कवि तथा स्थापित सर्जक हुनुहुन्थ्यो । यही वातावरणले उहाँको सृजनशीलतालाई थप गहिराइ दियो ।

 

नेपाली मात्र नभई हिन्दी भाषामा पनि उहाँको सशक्त दखल छ । उहाँका कविता, बालकविता तथा विविध लेखहरू विभिन्न नेपाली पत्रपत्रिकामा प्रकाशित भइरहेका छन् । साथै, हिन्दी भाषाका प्रतिष्ठित पत्रपत्रिकाहरूमा पनि उहाँका रचनाहरू निरन्तर प्रकाशित भइरहेका छन् ।
दीर्घकालसम्म शिक्षण पेशामा संलग्न रहेपछि सेवाबाट अवकाश लिए पनि उहाँको सृजनशीलता अझै अबाधित छ । शिक्षिका रहँदा बाल मस्तिष्कलाई नजिकबाट अध्ययन गर्ने अवसर पाएकी हुनाले उहाँको साहित्यमा बालबालिकाप्रति विशेष झुकाव देखिन्छ । यही कारणले उहाँले बालसाहित्यमा समेत उत्कृष्ट योगदान दिनुभएको छ । उहाँको बालकविता संग्रह ’लालाबाला’ सन् २०२४ मा प्रकाशित भएको थियो । उहाँको कलम सबै साहित्यिक विधामा समान रूपमा प्रवाहित भएको देखिन्छ । दोस्रो कृति ‘लोकगायक इन्द्र थपलियाः व्यक्ति र व्यक्तित्व’ तथा कविता संग्रह ‘समयका कणिका र रङ्ग’ पनि सन् २०२४ मै प्रकाशित भइसकेका छन् ।
सिर्जनात्मक योगदानका साथै देविका–मणि प्रकाशनकी अध्यक्षको रूपमा उहाँले ‘मणि खवास स्मृति ग्रन्थ’ समेत प्रकाशित गर्नुभएको छ । यसबाहेक, कदमतला र सिलगडीका विभिन्न संघ–संस्थाहरूसँग उहाँको सक्रिय संलग्नता रहिआएको छ ।

 

‘समयका कणिका र रङ्ग’ को बारेमा केही अनुभूति यस लेखमार्फत निफननाफन गर्ने प्रयास गरेको छु । कृतिभित्र कविले आफ्ना भावहरू यसरी व्यक्त गरेकी छिन् :
‘मेरा श्रीमान् पनि कवि नै भएकाले उहाँकै कविताहरू पढ्ने, सुन्ने अनि कहिलेकाहीं सुझाव दिने गर्थें । श्रीमानको निधनपछि, लगत्तै अवकाश प्राप्तिले जीवन झन् नैराश्यपूर्ण बन्यो । आफ्ना प्रिय मान्छेको अभावले घर शून्य लाग्थ्यो । धुमधुम्ती एकान्तमा बस्न मन लाग्थ्यो । उफ ! त्यो पीडा । आफ्ना प्रिय मान्छेदेखि छुट्टिनुको बेदना । आज पनि आलै छ छातीभित्र ।’ (पृ. १४)

 

कविभित्र कवित्व त पहिले नै थियो, तर त्यो सुषुप्त अवस्थामा रहेको थियो । पति वियोगको पीडा र वेदनाले उहाँको कवित्वले कलमी रूप लियो र यसैको प्रतिफलस्वरूप ‘समयका कणिका र रङ्ग’ जन्मियो । कृतिभित्र कतै कवि रोएकी छिन्, कतै पति वियोगको वेदना बिर्सिएर रमाएकी पनि छिन् । समयको अन्तरालसँगै उनका वियोगका घाउहरू पुरिँदै गएका जस्ता लाग्छन्, जब उहाँका कविताहरूलाई पढिन्छ ।
मन त बरु ढुङ्गाको
हुनु नि !
न दुःख्छ न पीर व्यथामा
मर्का पर्छ
न घात सहन्छ
न मात लाग्छ
हो, मन त बरु ढुङ्गाको हुनु नि । (पृ. २६)

 

सायद पति वियोगमा कवि धेरै दुखेकी छिन्, रोएकी छिन्, अनि आफूलाई सम्हाल्ने प्रयास गरेकी छिन्। त्यसैले भन्छिन्‌— “मन त बरु ढुङ्गाको हुनु नि ।’
जिन्दगी न हो भङ्गालिन सक्छ
सम्हाल यसलाई
जिन्दगी न हो कतै टुट्न सक्छ
जोड यसलाई । (जिन्दगी, पृ. ४४)

 

यस कवितामार्फत कविले आफूलाई ढाडस दिएकी छिन् । मनलाई बाँध्ने प्रयास गरेकी छिन् र सबैलाई सुकर्म गर्न, जीवनलाई एक सुनौलो अवसर मानेर सदुपयोग गर्न सन्देश दिएकी छिन् ।
म, गुरू, विद्यार्थीहरूका
मैले धेरै वर्ष विद्यार्थीहरूसँग बिताएको छु ।
नानीहरू गीला माटोझैँ हुन्छन्,
गुरूहरूले नै उनीहरूलाई सही आकार दिन्छन् । (मेरा विद्यार्थी, पृ. ४०)

 

यस कवितामा कवि आफ्नो शिक्षिका जीवनका दिनहरूसँग घोत्लिएकी छिन् । बालबालिकालाई सही मार्गदर्शन गर्न सकेँ वा सकिनँ भन्ने प्रश्नमा आत्ममन्थन गरेकी छिन् । साथै, आफ्ना विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना पनि व्यक्त गरेकी छिन्।
मैले जीवनमा धेरै समय जितेकी छु र
मेरो अनुहारमा जुन धर्सा देख्दैछौ तिमी,
यो त समयले दिएको पुरस्कार हो, सम्मान हो । (म बुढी भएकी छैन, पृ. २२)

 

निधारमा धर्साहरू देखिन थालेपछि आफूभन्दा अनुजहरूले भन्नेगर्छन् ए, तिमी त बुढो भएछौ, तिमी त बुढी देखिन्छ्यौ । कविले पनि यस्तै शब्दवाणको प्रहार भेटिन् सायद यसैर उनी भन्छिन् । मेरा अनुहारका धर्साहरूमा समयसँग जुझेका कथाहरू छन् । यी धर्साहरू नै भावी पिँढीहरूलाई बाटो देखाउने, समाजलाई अघि लाने, इतिहास चिनाउने, देशलाई नेतृत्व दिने अनि यो क्रम दोहोरिरहने आभास गराउँदै उनी बडोे गर्वसाथ भन्छिन् “म बुढी भएकी छुइनँ’ ।
ढोके, पाले हाम्रो परिचय होइन
कसैलाई ढाट्ने छल्ने हाम्रो आदत छैन
आफ्नै पौरख र हिम्मत छ हामीमा
अब नयाँ परिचय दिऔं गोर्खाको संसारमा । (नयाँ बाटो,पृ.२२)

 

नयाँ पुस्ता, युवा जमात, देशका सचेत इमान्दार नागरिकहरू गाउँबाट पलायन भएर देश–बिदेश पुगेर ढोके, पाले तथा दुःख शास्ती खप्दै इमान्दारी बनेर अर्काको मुलुकमा पसिना बगाएको देखेर कविले उनीहरूलाई सीप सिक्ने, बुद्वि विवेक लगाउँने, अर्काको तिरस्कार नसहने आफ्नै गाउँ–ठाउँमा फर्केर आउने अनि आफ्नै जन्मभूमिमा उधोगमा लाग्ने आव्हान गरेकी छिन् ।
हजुर बाबु मलाई राम्रै छ यहाँ
मलाई सुविस्ता आराम मिलेकै छ यहाँ
तिमीले घर बनाईसक्यौ होला
अलिक छिट्टै आउ ल छोरा
( बृद्वाश्रमबाट आमाको गन्थन छोराप्रति,पृ.५४)

 

कविको मन उडेर वृद्धाश्रम पुगेको छ यतिखेर । आफू झैं धेरै दुःखी आमाहरू भेटेकिछिन् त्यहाँ । आश्रमको दैनिकी वर्णन गरेकी छिन् । संसारका धेरै आमाहरू परिवारिक सदस्यद्वारा अपहेलित बनेर आश्रम पुगेका दृष्यहरू पाठकको आँखामा झल्झली आइरहन्छ यो कविता पडिरहँदा । एउटी आमा जसलाई छोराले माया मारे ता पनि एकदिन छोरा उनलाई लिन आश्रममा आउनेछ भन्ने आशावादी बन्दै छोरालाई फोन गरेकी छिन् । यो कविता मार्मिक बनेको छ । यो कविता मार्फत कविले आधुनिक सभ्य समाजको यथार्थ उजागर गरेकी छिन् ।

 

यसभित्र सप्तरङ्गी इन्द्रेणी झैं ४५ वटा रंङ्गीबिरङ्गी कविता समावेश गरिएका छन् । कृतिका सबै कविताहरूलाई यो छोटो लेख मार्फत पाठकसम्म पुर्याउँन सकिएन । कविताहरूको रसास्वादन गर्न पाठकहरूले यो कृति पढ्नै पर्ने हुनजान्छ ।

 

कविता भनेका कविका मनका भावहरू हुन् । विचारहरू हुन् । प्रत्येक पाठकको बुझाई फरक हुनसक्छ यसर्थ कुनै पनि कविता पढेर पाठकले त्यो कवितालाई आआफ्नै सोच र बुझाई अनुसार अर्थ्याउँछन् । मेरो बुझाईमा कविले आफ्नो भावनाहरू ठिक ढङ्गमा सजाउँन सफल हुनुभएको छ ।

 

उहाँको कृति ‘समयका कणिका र रङ्ग’ समयका कणिकाहरूलाई सुन्दर रङ्गहरू प्रदान गर्ने अमूल्य माध्यम बनेको छ । उहाँका कृति वा साहित्यले समाजलाई उज्यालो दिने विश्वासका साथ उहाँको सृजनशील यात्राले अझ उचाइ प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
बराल बगैंचा, सिलगडी (भारत)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा