पथरी, २ कार्तिक / मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गतको कला साहित्य प्रवद्र्धन समितिले कला र साहित्यको मासिक कार्यक्रम ‘सृजना मझेरी’ को पहिलो शृंखला भव्य रुपमा सम्पन्न भएको छ ।

पथरी शनिश्चरेको सृजना क्षेत्रको गतिविधिको इतिहासलाई व्यूँताउँदै मासिक रूपमा साहित्य र कलाका प्रस्तुतिको कार्यक्रम सञ्चालन गर्ने निर्णय बमोजिम शृंखलावद्ध कार्यक्रम ‘सृजना मझेरी’ अघि बढेको हो । दशैं, तिहार, छैठको शुभकामना आदानप्रदानसहितको सो कार्यक्रममा नगर बाहिरका केही अतिथि श्रष्टाका साथमा नगरका सर्जकहरुको सहभागिता थियो ।
शिक्षा, खेलकुद, सामुदायिक वन, उद्योग वाणिज्य, सहकारी, जेसीजसहितका विभिन्न सामाजिक संघ संस्थाका अगुवाहरुलाई समेत सहभागी गराई सृजनाको रसास्वादन गराउँदै सृजना प्रवद्र्धनमा उहाँहरुको समेत भूमिका खोजिएको थियो ।
कार्यक्रममा झापा, मोरङ र सुनसरीका सर्जकहरुको सहभागिता रह्यो ।

पूर्वका ख्यातिप्राप्त सर्जकहरु आचार्य प्रभा, केशव आचार्यका साथमा कृष्णप्रसाद अधिकारी, देवीप्रसाद घिमिरे, रोहित पराई, सुमन राई, दिलीप सगर राई, रुमानी कुलुङ, मुना आत्रेय, युगयोगी राई, विनोद घिमिरे विवश, विद्रोही कान्छा, दीपक दियालो, राजेन्द्र विवश, रविन भट्टराई, लोकसागर साम्बा, लक्ष्मीप्रसाद फुयाल, भद्रमान विश्वकर्मा, पृथ्वी आलेमगर, सूर्य रिमाल, कोपिला आचार्य रिमाल, उद्धवराज थापा, मञ्जरी घिमिरे र विवेक कार्कीले प्रभावकारी सृजना प्रस्तुत गर्नुभयो । विद्यालयका विद्यार्थीहरु लाजिमा सुन्दास, पवित्रा खनाल, कल्पना खनालसहितले पनि कविता प्रस्तुत गर्नुभयो । कार्यक्रममा यसअघि कविता प्रस्तुत गरेका केही पत्रकार र कविता प्रस्तुतै नगरेका अन्य पत्रकारहरुबाट समेत कविता प्रस्तुत गरेर थप माहोल निर्माण भएको थियो । जसमा भूमिप्रसाद पाठक, फिपराज बेघा, अर्जुन काफ्ले, भीमराज अधिकारीसहित हुनुहुन्थ्यो ।

लेखनाथ पौड्यालको कृति ‘तरुण तपसी’को कविताको अंश पढेर कार्यक्रमको उद्घाटन गर्नुभएका प्रमुख अतिथि पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोले पथरी शनिश्चरेले कला र साहित्यको क्षेत्रमा लामो इतिहास बनाएको चर्चा गर्नुभयो । समय र परिस्थितिले सृजनाको त्यो रफ्तारमा उतार चढाव भइरहेको अवस्थामा अब मासिक रुपमा निरन्तर कार्यक्रम गरेर नवसर्जकको सिकाइस्थल बनाउने योजनाको प्रशंसा गर्दै नगरपालिकाले यसमा निरन्तर सहयोग पुर्याइरहने विचार राख्नुभयो ।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष विजय लिम्बूले नगरमा संगिनी, बालन, नौमतिबाजासहितका लोपोन्मुख मौलिक सृजनात्मक संस्कृतिको प्रवद्र्धनसँगै साहित्यको प्रवद्र्धनमा सबै जुटेर अघि बढ्नुपर्ने बताउनु भयो ।
पथरी शनिश्चरेमा सृजना क्षेत्रमा केही गर्ने हुटहुटी पाल्दै लेखन र नाटक अभिनयमा समेत त्यो बेला सक्रिय भोजकुमार राईले अमेरिका बसाईको २८ वर्षपछि नगरको साहित्यिक कार्यक्रममा पहिलो पटक प्रस्तुत भएर आफ्ना अनुभवसहित कविता सुनाउनु भयो । आफूले आख्यानका ३ कृति प्रकाशित गरिसकेको र चाँडै अर्को कृति प्रकाशनको संघारमा रहेको जानकारी गराउनु भयो ।


समिति अध्यक्ष धनराज राई अमीरको आतिथ्यताको कार्यक्रममा समिति सल्लाहकार गणेश बाछानाले सृजना अभियानको योजना सुनाउनु भयो । अर्का सल्लाहकार भूपेन्द्रराज तिम्सिनाले कार्यक्रम सञ्चालन गर्दै अग्रज पुस्ता र नव पुस्तालाई जोड्नु भएको थियो । यस अघि कवि कुना, सृजना चौतारी जस्ता मासिक साहित्यिक शृंखला भएपनि तिनीहरुको निरन्तरता टुटेको अवस्थामा थप व्यवस्थित गर्दे सृजना मझेरीलाई निरन्तर बनाउने योजनामा कार्यक्रम थालिएको छ ।
मासिक शृंखलामा यस अघि साहित्यिक गतिविधि सञ्चालन गर्ने संस्थाहरु उद्घोष साँझ, गाउँघर साहित्यिक समूह, यात्रा प्रतिष्ठान, कवि कुना, सृजना चौतारीसहितका संस्था तथा साहित्यिक पत्रिकाको ऐतिहासिक सम्मानमा प्रत्येक महिना एउटा संस्थाको सम्झनामा त्यही नामको कार्यक्रम सञ्चालनको सर्वपक्षीय योजना बनेको छ । हाल सञ्चालनमा नरहेका त्यस्ता संस्थाका पदाधिकारीहरुलाई कार्यक्रममा सामेल गरेर त्यो बेलाको गतिविधिको स्मरण गराउँदै संस्थाका गतिविधिको इतिहास पुनर्जागृत गराउने योजना बनाइएको हो ।
‘विद्यार्थीसँग साहित्य’ कार्यक्रमको पनि तयारी
समितिले यो वर्ष कम्तिमा ३ महिनाको कार्यक्रम विद्यालयका विद्यार्थीहरुका लागि तय गरेको छ । विद्यार्थीहरुमा साहित्य लेखनको प्रशिक्षणमूलक कार्यक्रमका रुपमा ‘विद्यार्थीसँग साहित्य’ को तयारी गरिरहेको हो । जसमा साहित्य सिक्न इच्छुक नगरका सबै विद्यालयका विद्यार्थीको संख्याको आधारमा उनीहरुलाई लागि पायक पर्ने विद्यालयमा साताको एक दिन विद्यालयको अतिरिक्त क्रियाकलापको कार्यक्रमसँग जोडेर सो प्रशिक्षण सञ्चालन गरिने छ । जसका लागि पाठ्यक्रम समेत निर्माण गरिएको छ ।









