दमक, फागुन १३
चर्चित निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने चलचित्र ‘पहाड’ को रोकिएको छायांकन घिमिरेको स्वास्थ्यमा सुधार भएपछि पुनः गोरखामा सुरू भएको छ ।
गत माघ २२ गते मुहूर्त गरेर छायांकन सुरू गरिए पनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि छायांकन रोकिएको थियो ।
आफ्नो स्वास्थ्य अनुकुल भएपछि फागुन ९ देखि पूर्वनिर्धारित तालिकाअनुसार नै गोरखामा छाया.कन भइरहेको निर्देशक घिमिरेले जानकारी दिनुभयो ।
युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको चलचित्रले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पुर्याउने लेखकसमेत रहेका निर्देशक घिमिरेको भनाई छ ।
ओजस्वी केसी निर्माता रहेको चलचित्रमा विगत ३० वर्षदेखि नेपालमा रहेर प्रसिद्ध छायाकारको छवि बनाउनु भएका प्रमोद प्रधानको छायांकन रहेको छ । भारतमा फिल्म, वेबसिरिज र टेलिफिल्मसमेत छायांकन गरिसक्नुभएका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गर्नुभएको थियो ।
फिल्मको छायाङ्कन गोरखा र आसपासमा २५ दिन र भारतमा १५ दिन हुने निर्देशक घिमिरेले जानकारी दिनुभयो । पछिल्लो फिल्म ‘दर्पणछाया २’ पछि निर्देशनबाट केही समय विश्राम लिनुभएका निर्देशक घिमिरेले ‘पहाड’ मार्फत निर्देशनमा कमब्याक हुनुभएको हो ।
भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भइरहेको चलचित्रमा निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीको रुपमा दर्शकसामु आउनु भएको छ । विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायतका कलाकारले अभिनय गरिरहेका छन् ।
यस्तै, चलचित्रको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हाल्नु भएको छ । संगीत निर्देशकमा रञ्जित गजमेर र क्रिएटिभ निर्देशकमा भारती घिमिरे रहनु भएको छ । रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह निर्माता रहेको चलचित्र नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ ।









