विराटनगर, फागुन १४
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना र बेलबारी प्रज्ञा प्रतिष्ठान सहआयोजनामा आगामी फागुन १६ गतेदेखि २० गतेसम्म मोरङको बेलबारीमा कोशी प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ आयोजना हुने भएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालय र इटहरी नगरपालिकाको आर्थिक सहयोगमा आयोजना हुने प्रदर्शनीमा प्रदेशका १४ जिल्लाका १८६ जना कलाकारहरूका २२१ वटा कलाकृतिहरू राखिने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिषद सदस्य तथा कोशी प्रदेश संयोजक सञ्जय वान्ताद्वारा हस्ताक्षरित विज्ञप्तिमा समसामयिक मूर्तिकला १८ वटा, समसामयिक चित्रकला १२० वटा, परम्परागत चित्रकला ५ वटा, हस्तकला (हेन्डिक्राफ्ट) ३५ वटा, फोटोग्राफी कला १६ र लोककला २८ वटा कलाकृति रहने बताइएको छ ।
कार्यक्रममा प्रदेशमा रही लामो समयदेखि निरन्तर कला सिर्जनामा लागिरहेका ४ जना वरिष्ठ कलाकारहरूलाई सम्मान प्रदान गरिनेछ । साथै, प्रदर्शित कलाकृतिहरू मध्येबाट एकजनालाई ५० हजार राशिको उत्कृष्ट प्रादेशिक ललितकला पुरस्कार र अन्य विभिन्न विधामा विद्यमान २५ हजार राशिको विधागत पुरस्कारले पुरस्कृत गरिनेछ ।
प्रदर्शनी कार्यक्रममा पहिलो दिन उद्घाटन समारोह, दोस्रो दिन राष्ट्रिय कलाकारहरू सहितको कला कार्यशाला, तेस्रो दिन समसामयिक कला, लोक कला तथा स्थानीय कला सम्बन्धी अन्तरक्रिया कार्यक्रम, चौथो दिन सांगीतिक र सांस्कृतिक कार्यक्रम र पाँचौं दिन समापन समारोह हुने जानकारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रदर्शनी कार्यक्रमको अवधिभर १५ हजार भन्दा बढी अवलोकनकर्ताहरूलाई अवलोकन गराउने लक्ष्य राखिएको छ ।









