एजेन्सी, फागुन १८
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा तनाव भएको २४ घण्टा नबित्दै युक्रेनले बेलायतबाट २.८ अर्ब अमेरिकी डलर ऋण पाउने भएको छ ।
युद्धग्रस्ट देश युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा तनाव भएपछिको अवस्थामा बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँगको भेटलाई अर्थपूर्ण बनाउँदै त्यस्तो सहयोग प्राप्त गर्ने अवसर मिलेको हो । स्टेइमर र जेलेन्स्कीबीच डाउनिङ स्ट्रिटमा भएको भेटमा बेलायतले युक्रेनलाई २.८ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने विषयमा हस्ताक्षर भएको छ । जेलेन्स्कीले यसमा कृतज्ञता व्यक्त गर्दै यो रकम हतियार खरिदमा खर्च गर्ने जनाउनु भएको छ ।
शुक्रबार वाशिङ्टनमा भएको घटनापछि स्टेइमरले युक्रेनको स्वतन्त्रता जोगाउँदै शान्ति स्थापना गर्ने प्रयासमा आफू प्रतिबद्ध रहेको बताउनु भएको थियो ।
ट्रम्पले तेस्रो विश्व युद्ध निम्त्याउन युक्रेन अघि बढेको र अमेरिकाले सहयोग नगरे रुससँगको युद्ध दुई सातामा सकिने बताएपछि वार्तामा भनाभनको स्थिति बनेको थियो । भनाभनको स्थिति बढ्दै जाँदा ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न भनेपछि जेलेन्सी कुराकानी छोडेर बाहिरिनु भएको थियो ।
ह्वाइट हाउसको इतिहासमा दुई राष्ट्रअध्यक्ष सञ्चारमाध्यमसामु यसरी भिडेको र कुनै पनि विदेशी पाहुनासँग अमेरिकी राष्ट्रपति यसरी आक्रमक रुपमा देखिएको यो पहिलो हो । तनावका कारण दुई नेताबीचको संवाद पनि पूरा हुन पाएन । अमेरिका–युक्रेनबीच मिनरल्स (बहुमूल्य खनिज पदार्थ) बारेमा सम्झौताका बारेमा बार्ता थियो ।
अमेरिकी राष्ट्रपतिसँग रातो पिरो हुनेगरी बाझाबाझपछि जेलेन्स्कीको पक्षमा अहिले पूरा युरोप उभिएको छ । जेलेन्स्कीले जहाँ पुगेर पनि अमेरिकासँग सम्झौता गर्न तयार रहेको बताउँदै तर सुरक्षा ग्यारेन्टी चाहिने बताउनु भएको छ ।









