पथरी, चैत ३
मोरङको पथरी शनिश्चरे ९ रिंगुवामा अवस्थित सिंहबाहिनी माद्यमिक विद्यालयलाई हरहिसाबले व्यवस्थित गर्दै गुणस्तरीय शिक्षामा जोड दिन त्यहाँका पूर्व विद्यार्थीहरुले सक्रियता देखाएका छन् ।
स्थापनाकालदेखि नै विद्यालय परिसरमा शुद्ध पिउनेपानीको समस्यालाई भूतपूर्व विद्यार्थीहरुले यस वर्ष समाधान गरेपछि अब विद्यालय भवनको साजसज्जामा ध्यान गएको छ । यसक्रममा पथरी शनिश्चरे १० रिंगुवा निवासी पूर्व विद्यार्थी युरो पेन्ट्समा कार्यरत चन्द्र कटुवालले १५ हजार रुपैयाँ बराबरको १ सय लिटर रङ निःशुल्क उपलब्ध गराउनु भएको छ । सबैतिर रङ लगाउन अझै २ सय लिटर बढी रङ लाग्ने भएकाले यसलाई आपसमा सहयोग जुटाउन लागिपरेको त्यहाँका भूतपूर्व विद्यार्थी सञ्जालका सदस्य ऋषि चम्लागाईंले जनाउनु भयो ।
सञ्जालले विशेष गरी विद्यार्थीको पठनपाठनमा सघाउन अक्षयकोष निर्माणको योजना बनाएको सञ्जालका अध्यक्ष राजकुमार नाछिरिङ राईले बताउनु भयो । संस्थालाई नगरपालिका कार्यालयमा विधिवत दर्ता गर्न विधान निर्माणको काम अघि बढाइएको पनि उहाँले जनाउनु भयो ।










