दमक ,६ चैत
दमक बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनको जारी मत गणनाको पछिल्लो मतपरिणाम अनुसार सभापतिका उम्मेदवार नेपाल विद्यार्थी संघ निकट स्वतन्त्र प्यानलका भूपेन्द्र बस्नेत (भूवन) को अग्रता कायमै रहेको छ ।
गठवन्धनको उम्मेदवारका रुपमा सुरुवातदेखि अग्रता कायम राख्दै आउनु भएका बस्नेतले पछिल्लो सार्वजनिक मत परिणाम अनुसार ३२२ मत ल्याएर अग्रता कायम राख्नु भएको छ । बस्नेतका निकटतम प्रतिद्धन्द्धी अनेरास्ववियुका निशम अधिकारीले २४१ मत ल्याएर पछ्याइरहनु भएको छ । नेविसंघका अर्का उम्मेदवार सायन साम्पाङले १७५ मत र स्वतन्त्र समूहकी रश्मी उप्रेतीले ५७ मत ल्याउनु भएको छ ।
सचिव पदमा बस्नेत प्यानलकै राप्रवि संघका राजेश थापाले ३६७ मत ल्याएर अग्रपक्तिंमा हुनुहुन्छ भनें अखिलका राकेश खडका ३३६ मतले पछ्याइरहनु भएको छ । कोषाध्यक्षमा बस्नेत प्यानलकै प्रविण जोगी (सोल्टा) ले ४२२ मत र उनलाई अनेरास्ववियुकी प्रिती मगरले ३०० मत प्राप्त गर्नुभएको छ ।
सदस्यहरुमा पनि बस्नेत समूहका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् । निर्वाचनमा नेविसंंघको आधिकारिक प्यानल र सोहि संगठनका असन्तुष्ट समूहले गठबन्धन गरि चुनावी मोर्चामा उत्रिएका थिए ।
साम्पाङको समूहलाई आधिकारिक प्यानल मानेर कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू ,नगर सभापति प्रकाश प्रसाईले नेतृत्व गर्नुभएको छ भनें बस्नेत समूहको नेतृत्व भने कांग्रेस प्रदेश सभाका सभापति रवि केसी, महासमिति सदस्यहरु शुरेस सुब्बा, कांग्रेस कोशी प्रदेश सदस्य भूमिराज राई, नेताहरु राजन ढुंगाना, आइन्द्र केरुंङ, मेदनी सिटौला, रोशन विष्ट, पर्शुराज रिजाल लगायतले साथ दिइरहेको बुझिएको छ । स्ववियू निर्वाचनमा क्याम्पसमा कुल मतदाता ३७०३ मध्ये १९५६ मत खसेको थियो ।
मत गनिसक्न अझै केही समय लाग्ने निर्वाचन समितिले जनाएको छ ।










