दमक, चैत २०/ आफ्नो जिम्मेबारीको कामलाई जस्तै परिस्थितिमा पनि पुरा गर्नुपर्छ भन्ने उदाहरण बन्नु भएका भाटभटेनी सुपरमार्केट कोटेश्वर शाखाका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत बन्नु भएको छ ।
भाटभटेनी मार्केटमा गत चैत १५ गते राजावादीको आन्दोलनमा भएको लुटपाटमा प्रतिकार गर्ने पराजुलीलाई बुधबार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले ५ लाख १ हजार १ सय ११ रुपैयाँले पुरस्कृत गर्नुमात्र होइन एकैसाथ पाँच ग्रेड बढुवा गरेर उहाँको साहसिक कार्यप्रति सम्मानित गर्नुभयो । पराजुलीको सम्मानमा एक कार्यक्रमको आयोजना गरिएको थियो ।
राजावादीको आन्दोलनका क्रममा कोटेश्वरस्थित सुपरमार्केट शाखामा लुटपाट गर्न पुगेका प्रदर्शनकारीको एक्लै प्रतिकार गरी पराजुलीले थप क्षति हुनबाट जोगाउनु भएको थियो । सो मार्केटमा भएको लुटपाटबाट कम्तिमा पनि ८० लाखको क्षति भएको सुपरमार्केटले जनाएको छ । लुटपाट गर्नेहरुलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ ।









