दमक, २४ चैत। दमक नगरपालिका वडा नम्बर ९ स्थित सरस्वती मावि इटाभट्टाको परिसरमा व्यायामशाला निर्माण गरिएको छ ।
विद्यालयको दक्षिण तर्फको प्रदेशद्वार छेउमै वडा नम्बर ९ ले ५ लाख रुपैँया लगानी गरेर विभिन्न नौ प्रकारका व्यायाम उपकरणहरु राखेर खुला व्यायामशालाको उद्धघाटन गरिएको छ ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले उद्घाटन गर्दै भन्नु भयो ‘नगरपालिकाले अहिले पूर्वाधारको काम सँगसँगै शिक्षा र स्वास्थ्यलाई पनि लिएर अघि बढिरहेका छौ । यो काम त्यसै अनुसार भएको हो ।’ नगरका अन्य ५ वटा वडामा समेत यसखाले व्यायामशाला निर्माण गरिएको र यसलाई १० वटै वडामा पुर्याउने लक्ष्य समेत राखिएको उहाँले बताउनु भयो ।
कार्यक्रमको अध्यक्षता गर्नु भएका वडा नम्बर ९ का वडाध्यक्ष कुवेर भट्टराईले बढ्दो सहरीकरण र व्यस्ताले गर्दा शरीरलाई कसरत कम भइरहेको र आफ्नै ठाउँमा निर्माण भएको यसखाले खुला व्यायामशालाले सबैलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । स्थानीयको माग र आवश्यकतालाई मद्यनजगर गर्दै यो योजना वडाकै बजेटबाट निर्माण गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रमममा विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति अध्यक्ष, बिभिन्न राजनीतिक दलका स्थानीय नेतृत्व तथा समाजका अन्य प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।









