दमक, २५ चैत । सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देही कारागार चलान गरिएको छ ।
बिहान उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट आदेशको मिसिल प्राप्त भएपछि प्रहरीले लामिछानेलाई जिल्ला अदालत पेस गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी सुरज कार्कीको नेतृत्वको टोलीले अदालत पेस गरेको र अदालत पुर्याउने बित्तिकै लामिछानेलाई थुनुवा पूर्जी प्रदान गरी कारागार चलान गरिएको छ । लामिछोनलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ । सो ब्लकमा अहिले लामिछानेमात्रै रहेको जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीले जनाउनु भयो । करिब एक घण्टासम्म कारागारमा लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो ।
लगातार पक्राउ पर्दै र धरौटीमा छुट्दै आएका लामिछानेलाई शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले भनें सुप्रिम बचत तथा ऋण सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । त्यसपछि शनिबार रविलाई पक्राउ गरी रुपन्देहीको भैरहवा पुर्याइएको थियो ।
सोमबार बिहान लामिछानेलाई अदालत लैजानु अघि सदरमुकाम भैरहवाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । जिल्ला प्रहरीबाट अदालत जाने बाटो र अदालत परिसर आसपास नेपाल र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो । जिल्ला कारागार परिसर र आसपासपनि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।









