अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर अर्जुनधारा ७ मा पर्ने दाहाल चोकस्थित सडकमा स्थानीय अन्दाजी ७० वर्षीय दुर्गाबहादुर बस्नेतलाई लिम्बूले बन्चरो प्रहार गरी हत्या गरेका हुन् । आखिर लिम्बूले पाको उमेरका आफ्नै छिमेकी बस्नेतलाई किन हत्या गरे ? घटना भएको एक घण्टाभित्र पक्राउ परेका लिम्बूले प्रहरीसंगको बयानमा खासै कारण बताइसकेका छैनन् ।
मानसिक अबस्था ठीक नभएको जस्तो देखिने लिम्बूले ‘ दुईवटा हात र दुईवटा खुट्टा भएको साँढेलाई मैले ढाले ’ जस्ता अस्वाभाविक उत्तर सोधपुछका क्रममा दिएको एक प्रहरी अधिकृतले बताउनु भयो। घटना हुनुअघि दुवैले संगै बसेर मदिरा सेवन गरेको बताइएको छ । घटनास्थलमा मदिराको बोतल फेला परेको छ । दुवैजना विल्डकन फ्याक्ट्रीमा संगै काम गर्ने गरेका थिए । बन्चरो प्रहारबाट बस्नेतको घटनास्थलमै मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी निरीक्षक मनिश लुइटेल नेतृत्वको टोलीले घटना भएको एक घण्टाभित्र अभियुक्त लिम्बूलाई पक्राउ गरेको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कार्वाही भइरहेको प्रहरीले जनाएको छ ।









