दमक, २५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २७ गते तेह्रथुमको लालीगुराँस नगरपालिकामा कोशी प्रदेश पर्यटन वर्ष २०८२ शुभारम्भ गर्नुहुने भएको छ ।
लालीगुराँस नगरपालिकाको सहकार्यमा कोशी प्रदेश सरकारको आयोजनामा लालीगुराँस नगरपालिका १ स्थित आरआर गार्डेनमा बिहान साढे ११ बजे पर्यटन वर्ष शुभारम्भ गरिने कार्यक्रम तय भएको छ । त्यहाँ लालीगुराँस फूलेको मनोरम दृष्य अवलोकन गर्दै नयाँ वर्षलाई स्वागत गर्ने कार्यक्रमका लागि गुराँसका बोटमा सिंचाई समेत गरिएको छ । कोशी प्रदेश सरकारले प्रदेशको पर्यटन प्रवद्र्धन र विकासका लागि वि.सं. २०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष, २०८२ घोषणा गरेको छ ।
पर्यटन वर्ष शुभारम्भको अघिल्लो दिन चैत २६ गते ‘लोकतन्त्र र पर्यावरण’ र ‘जैविक विविधता र गुँरास पर्यटन’ विषयमा ‘प्यानल डिस्कसन’ हुने लालीगुराँस नगर प्रमुख अर्जुनबाबु माबोहाङले जनाउनु भयो । ‘लोकतन्त्र र पर्यावरण’ विषयक अन्तरसंवादमा राजनीतिक विश्लेषक मुमाराम खनाल, केशव दाहाल, मोहन तिम्सिना, नगर प्रमुख माबोहाङ र कोशी प्रदेशका सचिव विशाल घिमिरेलगायतले सहभागिता जनाउने कार्यक्रम छ ।
यस्तै ‘जैविक विविधता, गुँरास र पर्यटन विकास’ विषयक अन्तरसंवादमा लेखक तथा विश्लेषक कमल मादेन, कोशी प्रदेशका पूर्वमन्त्री लक्ष्मण तिवारी, वन अधिकृत विनिता सुवेदीलगायत गुराँस विज्ञहरूले सहभागिता जनाउने छन् । अन्तरसंवाद तेह्रथुमको वसन्तपुरस्थित चोःलुङ पार्कमा हुने छ ।









