काठमाडौं, २५ चैत / सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पूपर्क्षका लागि सोमबार रुपन्देही कारागार चलान भएकै अवस्थामा सहकारी तथा वित्त पीडितहरुले काठमाडौंमा धर्ना कार्यक्रमलाई थप अघि बढाएका छन् ।
सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै पुनः आन्दोलनमा उत्रिएका सहकारी, लघुवित्त एवं मिटरव्याज पीडितहरूले सोमबार राष्ट्रपति भवन नजिक धर्ना दिएका छन् । सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) को अनुवाइमा उनीहरूले सोमबार काठमाडौंको शान्तिबाटीकाबाट र्यालीसहित राष्ट्रपति भवन नजिक पुगेर धर्ना दिएका हुन् ।
राष्ट्रपति भवन अगाडी नै धर्ना दिन खोजे पनि उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा नै रोकेको थियो । प्रदर्शनकारीहरूले सहकारीको स्वनियमन खारेज गर, पीडितको बचत रकम फिर्ता हुने सुनिश्चित गर, पीडितको घाउमा मलम लगाउने काम गर लगायतका प्लेकार्ड प्रदर्शन गरेको थिए भने पीडितलाई न्याय दे भन्दै उनीहरूले नाराबाजी गरेका थिए ।
सरकारले पटक पटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको उनीहरूको गुनासो छ । लघुवित्त संस्था खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, मिटरव्याजी तमसुक रद्द गर्नुपर्नेसहितका माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको समितिकी लक्ष्मी घिमिरेले जानकारी गराउनु भयो ।









