दमक, २५ चैत । भुटानबाट देश निकाला गरिएकाहरुलाई तेस्रो मुलुकमा पुनर्वास गराइएपनि त्यताबाट उनीहरु पुनः निकाला भई अलपत्र बनेको विषयमा विभिन्न संस्था र व्यक्तिहरुले चिन्ता प्रकट गर्दै उनीहरुको दिगो समाधानको माग बढाउँदै आएका छन् ।
यस क्रममा अमेरिकामा पुनर्वास भएका पत्रकार एवम् समाजसेवी अर्जुन प्रधानले अमेरिकाबाट निकालिएका भुटानीहरु अलपत्र परेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनीहरुको दिगो समाधानमा पहलकदमी गर्न मेची सामुदायिक सेवा केन्द्र काकँडभिट्टा, झापामार्फत अपिल गर्नुभएको छ ।
उहाँले पछिल्लो घटनाक्रमले भुटानीहरूको वर्तमान अवस्थाबारे गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै हालै अमेरिकाबाट १२ जान सुपुर्दगी (डिपोर्ट) गरिएका भुटानीहरूलाई भुटान सरकारले पुनः नेपाल पठाएको छ, जसले उनीहरूको मानव अधिकार र सुरक्षामा गम्भीर प्रश्न उठाएको सवाल अघि सार्नुभएको छ ।

अर्जुन प्रधान
सन् १९९० को दशकमा भुटान सरकारले नेपालीभाषी ल्होत्साम्पा समुदायलाई बलपूर्वक देश निकाला गरी नेपालमा शरण लिन बाध्य पारेको इतिहास उल्लेख गर्दै उहाँले अपिलमा लेख्नु भएको छ ‘तिनलाई पुनःस्थापनाका लागि विभिन्न देशहरूले सहयोग गरे तापनि, केही शरणार्थीहरू अझै नेपालमा कठिन परिस्थितिमा जीवनयापन गरिरहेका छन् । हालै, अमेरिकाबाट डिपोर्ट गरिएका शरणार्थीहरूलाई भुटानले पुनः स्वीकार नगरी नेपाल पठाएको घटनाले उनीहरूको भविष्य अझ अनिश्चित बनाएको छ ।’ यस परिस्थितिमा, मेची सामुदायिक सेवा केन्द्रजस्तो समुदायको उत्थानमा लागेका संस्थाहरूले केही कदम उठाउन सक्ने धारणा राख्दै केन्द्रका अध्यक्ष एवम् पत्रकार मुक्ति पौडेल समक्ष निम्नलिखित ४ वटा बुँदा अघि सार्नुभएको छ :
१. शरणार्थीहरूको सुरक्षा सुनिश्चितता : नेपालमा रहेका शरणार्थीहरूको सुरक्षा र मानव अधिकारको संरक्षण गर्न स्थानीय प्रशासनसँग समन्वय गर्नु आवश्यक छ ।
२. अन्तर्राष्ट्रिय समुदायसँग समन्वय : संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसीआर) लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गरी शरणार्थीहरूको दीर्घकालीन समाधान खोज्न पहल गर्नु जरुरी छ ।
३. स्थानीय समुदायमा जनचेतना अभिवृद्धि : शरणार्थीहरूको अवस्थाबारे स्थानीय समुदायमा जनचेतना फैलाएर उनीहरूप्रति सद्भाव र सहयोगको वातावरण सिर्जना गर्नु आवश्यक छ ।
४. कानूनी सहायता प्रदान : शरणार्थीहरूलाई आवश्यक कानूनी सहायता प्रदान गरी उनीहरूको अधिकारहरूको संरक्षण गर्न सहयोग गर्नु आवश्यक छ ।
मानव अधिकारको सम्मान र संरक्षण हामी सबैको कर्तव्य भएको प्रसंग अघि सार्दै मेची सामुदायिक सेवा केन्द्रले भुटानी शरणार्थीहरूको पुनर्वास र संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास लिएको कुरा अपिलमा उल्लेख गर्नुभएको छ । सो अपिल शरणार्थी समन्वय इकाई झापामा समेत बोधार्थ पठाएको प्रधानले जनाउनु भएको छ ।
निर्वासित १२ मध्ये प्राप्त ६ जनाको विवरण
१, मैता सिंह गुरुङ
अमेरिका प्रवेशः नोभेम्बर ८, २०१०
अपराध : साधारण आक्रमण, आतंक फैलाउने धम्की र चोरी
पक्राउ मितिः मार्च १२, २०२५
निर्वासन आदेशः सेप्टेम्बर १५, २०१५
२.अशोक गुरुङ
अमेरिका प्रवेशः अगस्ट १३, २०१२ (शरणार्थी)
अपराधः गम्भीर आक्रमण
पक्राउ मिति : मार्च ९, २०२५
निर्वासन आदेश : जुलाई ७, २०१७
३.बहादुर सिंह राई
अमेरिका प्रवेश : अगस्ट १५, २०११ (शरणार्थी)
अपराध : घरेलु हिंसा, बच्चाको अगाडि आक्रमण
पक्राउ मितिः मार्च ७, २०२५
निर्वासन आदेश : सेप्टेम्बर २४, २०१३ (स्वेच्छिक प्रस्थान आदेश)
४.बुद्ध सिंह गुरुङ
अमेरिका प्रवेश : अगस्ट १, २०१२
अपराध : बलात्कार, यौन आक्रमण, बाल दुराचार
पक्राउ मिति : पेन्सिल्भेनिया कारागारमा रहेको बेला
निर्वासन आदेश : अगष्ट २७, २०२०
५.बिदुर खड्का
अमेरिका प्रवेश : जनवरी ६, २०११ (शरणार्थी)
अपराध : घाँटी थिच्ने आक्रमण, साक्षी धम्क्याउने, बालबालिकाको सुरक्षामा जोखिम पुर्याउने
पक्राउ मिति : अगस्ट ३१, २०२३
निर्वासन आदेश : जनवरी ९, २०२५
६.रुप नारायण खरेल
अमेरिका प्रवेश : अगस्ट ३, २००९ (स्थायी बसोबास अनुमति)
अपराध : १६ वर्षभन्दा कम उमेरको व्यक्तिमाथि यौन दुराचार, बालबालिकाको सुरक्षामा जोखिम
पक्राउ मिति : मे ३०, २०२४
निर्वासन आदेश : जनवरी ९, २०२५
नेपालमा डिपोट भएपछि पक्राउ परेका : आशिष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी नेपालस्थित शरणार्थी शिविरमा पुग्नु भएको थियो भने अशोक गुरुङलाई काँकडभिट्टामा पक्राउ गरि प्रहरीले हाल काँकडभिट्टामा राखेको छ । अन्य ८ जना भनें वेपत्ताको अवस्थामा रहेको प्रधानको अपिलमा उल्लेख गरिएको छ । सबैलाई अमेरिकाले भुटान ल्याएर जिम्मा लगाएको र जिम्मा लिएपछि सबैलाई भुटानबाट यसअघि शरणार्थी बनाइए सरह निकाला गरेर अर्को गम्भीर अन्याय गरेको प्रधानको ठहर छ ।









