पथरी, २५ चैत / मोरङको पथरी शनिश्चरे वडा नम्बर १ द्वारा आयोजित प्रथम वडाध्यक्ष वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक वडाले नै चुमेको छ ।
सोमबार वडा नम्बर १ को जाँते मोडस्थित खेलमैदानमा सम्पन्न भएको फाइनल खेलमा आयोजक वडा नम्बर १ ले वडा नम्बर ९ लाई ० का विरुद्ध १ गोल गर्दै उपाधि चुमेको हो । विजेता वडा नम्बर १ ले ३१ हजार नगदसहित मेडल तथा ट्रफी प्राप्त गरेको छ भने ‘उपविजेता’ वडा नम्बर ९ ले २१ हजार नगद सहित मेडल तथा ट्रफी प्राप्त गरेको छ ।
खेलको निर्धारित समयको ८ औं मिनेटमा वडा नम्बर १ का खेलाडी रविन राईले विपक्षी टिमको गोल पोष्टमा प्रहार गरेको गोल नै विजयको लागि निर्णायक गोल बनेको थियो ।
खेलको म्यान अफ दी म्याच वडा नम्बर १ का खेलाडी सोनाम गुरुङ घोषित भइ पुरस्कृत बन्नु भयो । सो प्रतियोगिताको समापन समारोहमा वडा नम्बर ९ का सायन राईले ‘गोल्डेन बल’ र १ का विशाल दर्लामीले ‘गोल्डेन ग्लोब ’ प्राप्त गर्नुभयो । सोही क्रममा, विभिन्न विधामा उत्कृष्ठ खेलाडीहरुलाई मेडल तथा ट्रफी प्रदान गरिएको थियो ।
प्रतिस्पर्धात्मक एवम् रोचक फाइनल खेल सम्पन्न भएको भन्दै आयोजक वडा नं १ का वडा अध्यक्ष भीम कुमार राईले खेलाडीहरूको खेल कौशलता अभिवृद्धिका लागि वडा कार्यालयले फुटबल प्रतियोगिता आयोजना गरिएको जनाउनु भयो ।
यसैगरी, नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकीले खेलाडीले खेलको अनुशासन भित्र रही कुशल खेल कौशता प्रर्दशन गर्नुनै खेलाडीको धर्म रहेको उल्लेख गर्नुभयो ।
सो अवसरमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो, प्रशासकीय अधिकृत शशी राई, वडा अध्यक्षहरू लोक किरण न्यौपाने, वीरबहादुर राई, जीवन खतिवडा, उद्धवराज बस्नेत, कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, आयोजक वडाका वडा सदस्यहरू एवम् कर्मचारीहरू, खेलप्रेमी दर्शकको लगायतको बाक्लो उपस्थिति रहेको थियो ।









