दमक, ३ बैशाख / दमक ९ स्थित सरस्वती माविले आफ्नो जमिनमा सञ्चालनमा रहेको दमक ८ स्थित गड मदर एकेडेमी एण्ड टेक्नोलोजीबाट जमिन खाली नगरेको भन्दै दमक नगरपालिकाको ध्यानाकषर्ण गराएको छ ।
गत चैत २६ गतेको दमक नगरपालिकाको कार्यपालिकाको निर्णय बमोजिम यो शैक्षिक सत्र अगावै स्थानान्तरण गर्नु भन्ने निर्देशन भएपनि विद्यालयले अझै प्रक्रिया अघि नबढाएको भन्दै विद्यालयको टोलीले नगरपालिकामा पुगेर ध्यानाकर्षण पत्र बुझाएको हो ।
सरस्वती माविका प्रधानाध्यापक सिताराम ढकालले ज्ञापनपत्र वाचन गर्दै भन्नु भयो ‘सात दिन भित्रमा सो गडमदर एकेडेमीले ठाउँ खाली नगरे दमक नगरपालिकाको मुल गेटमै ताला लगाएर आन्दोलन गर्ने छांै ।’
ज्ञापनपत्र दमक नगरपालिकाका प्रमुख राम कुमार थापा र उप प्रमुख रेगिना भट्टराई प्रसाईंलाई बुझाइएको हो । सरस्वती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवतराज पुरी गगनले विद्यालयको सम्पूर्ण जमिन नगरपालिका मातहत रहेकोले नगरपालिकामा आएर ज्ञापन पत्र बुझाउनु परेको स्पष्ट पार्नु भयो ।
ज्ञापनपत्र बुझेपछि नगरका प्रमुख रामकुमार थापाले सो विद्यालयलाई त्यहाँबाट हट्न भनेर लिखित पत्र पठाइसकेको बताउनु भयो । उहाँले सातदिनभित्रै हटाइसक्ने पहलमा लाग्ने जनाउनु भयो । त्यस क्षेत्रका अभिावकहरुलाई समेत सचेत बनाउने र सकेसम्म सात दिनभित्रैमा ठाउँ खाली गराउने कुरामा लागिपर्ने थापाले प्रतिवद्धता जनाउनु भयो ।
यस अघि पनि विद्यालयले नगरपालिकालाई यसखाले दवाब दिएको थियो । सो दवाव पछि नगरपालिकाले वडा नम्बर ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल दिपेशको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो । सो समितिले पनि सो विद्यालयले अहिलेको शैक्षिक सत्र सुरु हुनु अघिनै जमिन खाली गरिसक्नु पर्ने निचोडको प्रतिवेदन नगर प्रमुख समक्ष बुझाएको थियो ।










