आदरणीय रामकुमारी झाक्री दिदी
सादर नमस्कार
शिक्षकहरुले बढी नै रमिता देखाए भन्ने तपाईंको टिप्पणी सुनेर “रमिता“ भन्ने शब्दको परिभाषा नै के हो भन्नेमा म कन्फ्युज्ड भएको छु । मेरा केही कन्फ्युजन निम्न बमोजिम छन् ।
१. तपाईले २०६० को दशकमा टाउकोमा फेटा बाँधेर सडक पेटीको रेलिङ भाँच्दै राज्यसत्ता विरुद्ध ढुंगा हानिरहँदा त्यो बेलाको शासकहरुले पनि तपाईंलाई “ के रमिता देखाएको“ भन्थे । त्यो साच्चै रमिता थियो कि आन्दोलन ?
२. २०७७ सालमा आफ्नै पार्टीको अध्यक्षको विरुद्धमा मुखमा टेप बाँधेर हिन्दी फिल्मी शैलीमा मञ्चमा इन्ट्री गर्दा तपाईलाई तपाईकै अध्यक्षले “रमिता देखाउने केटी“ भनेका थिए । त्यो साच्चै रमिता थियो कि बिद्रोह ?
३. २०७८ सालमा मन्त्री पदबाट चिप्लिदा पत्रकार सम्मेलन मै क्वा क्वा रुनुभएको थियो । धेरैले “के रमिता देखाएको होला“ भनेर टिप्पणी गरेका थिए । त्यो साच्चै रमिता थियो कि देशप्रतिको जिम्मेवारीबोध ?
अब हाम्रो आन्दोलनको रमिताको बारेमा केही बोलौं है त । हामीले १८ औं दिनसम्म निरन्तर आन्दोलन गरिरहेका छौँ । आन्दोलनमा कोही गीत गाइरहेका छन्, कोही नाचिरहेका छन् , कोही जादु देखाइरहेका छन्, कोही टिकटक बनाइरहेका छन् । यी साना तिना क्रियाकलापलाई रमिता भन्नुहुन्छ भने त्यो पनि स्वीकार छ । तर हामीले त जम्मा १८ दिन भो रमिता देखाएको, तपाईंहरुले कति वर्ष भो रमिता देखाएको यो देशमा ? तपाईंहरुको रमिता हेर्न नसकेर प्रत्येक दिन ३ हजार बढी युवाले देश छाड्ने गरेको देख्नु भएको छ ?
हाम्रो रमिता के को लागि हो भनेर तपाई जत्तिको राजनीतिज्ञले बुझ्न सक्नु भएन भने अरु नेताले के बुझ्लान् ? तपाईंहरु आफैले लेखेको संबिधानमा तीन वर्षभित्र आवश्यक सम्पूर्ण कानुन निर्माण गरिसक्ने भन्ने बाध्यकारी प्रावधान उल्लेख गरिएको छ । दस वर्ष बितिसक्दा पनि एउटा शिक्षा ऐन बनाउन नसक्नुमा आत्मग्लानी हुदैन ? तपाई आफू एक चोटी सांसद हुँदा र एक चोटि मन्त्री हुँदा शिक्षा ऐन निर्माणको लागि के के भुमिका खेल्नु भयो भन्ने हेक्का छ ?
मलाई लाग्थ्यो तपाईं विद्यार्थी राजनीतिबाट आएको हुनाले नेपाली शिक्षा क्षेत्रको सम्पूर्ण समस्या, विकृती, बिसंगती राम्ररी बुझ्नु हुन्छ । यसको निराकरणको लागि कस्तो कानुन बनाउने भन्ने बारे तपाईंबाट गम्भीर सुझाबहरु आउनु पर्थ्यो । तर तपाईं पनि शासक भइसक्नु भएछ । आदेश दिन थाल्नु भयो । आदेश दिनु शासकहरुको विश्वव्यापी विषेशता हो । शासकहरुले समस्या सुल्झाउदैन, बल्झाउछ मात्र ।
र अन्त्यमा दिदी,
आफूले गरेका हरेक आन्दोलन आफ्नो लागि गौरवपूर्ण हुन्छ । तपाई आफूले २०५० सालदेखि अहिलेसम्म गरेका आन्दोलनहरु सम्झेर ल्याउनुस् त, के ती आन्दोलनहरु तपाईंको लागि गौरवपूर्ण छैनन् ? कि तपाईंलाई आफुले गरेको आन्दोलनप्रति घृणा र पश्चाताप छ ? हामी शिक्षकहरुले २०३६ सालदेखि निरन्तर आन्दोलन गरिरहेका छौं । आन्दोलनबाटै प्राप्त उपलब्धिको कारण हामी नेपाली शिक्षकहरु यत्तिको हैसियमा छौँ । हाम्रो आन्दोलनलाई तपाईं रमिता भन्नुस् या तमासा, हाम्रो आन्दोलन हाम्रा लागि गौरवपूर्ण छ । आन्दोलनबाट उदाएको तपाईं जस्तो नेताले हाम्रो आन्दोलनलाई रमिता भन्नू मानसिक स्खलन बाहेक केही होइन । आगे उप्रान्त तपाईंको जय होस् ।
(राई, मोरङका शिक्षक हुनुहुन्छ)









