इलाम, १५ वैशाख । व्यवस्थापन समिति अध्यक्ष देवराज थापाको आग्रहपछि आइतबारदेखि इलाम नगरपालिका–३ पुवामझुवास्थित विडापानी माविमा पठनपाठन सुरु भएको छ ।
‘अहिलेसम्म तपाईँहरूको आन्दोलनलाई साथ दियौ, अब अभिभावकको प्रेसर हामी थेग्न सक्दैनौ । कि त विद्यालय एक वर्षका लागि बन्द गरिदिनुहोस् कि त अब सञ्चालन गर्नुहोस् ।’ राजधानी केन्द्रित शिक्षक आन्दोलन लम्बिदैं गएपछि थापाले आफ्ना स्कुलका शिक्षक र अभिभावकहरुलाई भेला गराएर यस्तो आग्रह गर्नुभएको थियो । थापाको आग्रह स्वीकार्दै शिक्षकहरु तत्काल विद्यालय खोल्न राजी भए ।
सो विद्यालयका सहायक प्रधानाध्यापक विष्णुभक्त भण्डारी ‘आन्दोलनमै रहेर आइतवारदेखि स्कुल खोलेको’ बताउनुन्छ । अहिले विद्यार्थीको नाम लेखाउने र किताब वितरण गर्ने काम धमाधम भइरहेको भण्डारी बताउनुहुन्छ ।
त्यस्तै अभिभावकको दबाबपछि इलाम नगरपालिका—१ स्थित नेपालटार मावि पनि खुलेको छ । ‘अभिभावकहरूले हामी विद्यार्थी ल्याउँछौ भनेर भन्न थालेपछि विद्यालय खोलेको शिक्षक निर्मल तिमल्सिनाले बताउनुभयो । आइतबारदेखि नै स्कु्ल खुले पनि पठनपाठन भने सुरु भइनसकेको तिमल्सिना बताउनुहुन्छ ।
जिल्लाकै देउमाई नगरपालिकास्थित जितपुरको खान्द्रुङ माध्यमिक विद्यालय पनि आइतबारबाट खुल्यो । यो स्कुल पनि अभिभावकको दबाबकै कारण खुलेको हो ।
यीमात्र होइन, इलामका धेरैजसो विद्यालय खुल्न थालिसकेका छन् । अभिभावकको दबाबपछि शिक्षकहरूले विद्यालय खोलेर नाम लेखाउने र किताब वितरण गर्ने काम सुरु गरेका हुन् । नयाँ शैक्षिकसत्र सुरु हुनु अगावै आन्दोलनका लागि शिक्षकहरू काठमाडौ गएपछि नयाँ शैक्षिक सत्र सुरु हुँदा सबै विद्यालय ठप्प थिए । वैशाख आधा बित्दा पनि विद्यालय नखुलेपछि अभिभावकहरूले दबाब दिन थालेका हुन् ।
यता इलाम नगरपालिकाले शिक्षकहरूको आन्दोलनलाई समर्थन गर्दै शैक्षिक कार्यक्रम अघि बढाउन आग्रह गरेको छ । नगर प्रमुख केदार थापाले विज्ञप्ति जारी गर्दै यस आन्दोलनका कारण समग्र देश भरिको विद्यालयहरुमा शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना, कक्षा सञ्चालन तथा परीक्षा लगायतका गतिविधिहरू प्रभावित भएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
समयमा विद्यालय नखुलेका कारण विद्यार्थीहरूको मनोविज्ञानमा समेत असर परिरहेको साथै अभिभावकहरूमा समेत गम्भीर र संवेदनशील भएको विद्यमान अवस्था र शिक्षा ऐनमार्फत शिक्षकहरूको माग पूरा गर्ने सन्दर्भमा वार्ता समेत भइरहेकाले विद्यार्थी भर्ना र परीक्षालाई कति पनि असर नहुने गरी आफ्नो वार्षिक शैक्षिक कार्यक्रमलाई अगाडि बढाउन समेत थापाको आग्रह छ ।
गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू चैत २० गतेदेखि आन्दोलनमा छन् । शिक्षक आन्दोलनका कारण देशैभरका सामुदायिक विद्यालयहरु अहिलेसम्म वन्द छन् । जसका कारण वैशाखभर सञ्चालन गर्नुपर्ने विद्यार्थी भर्ना अभियान समेत अहिलेसम्म सुरु हुन सकिरहेको छैन ।









