विराटनगर,९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन गरेर पदबाट राजीनामा दिन आग्रह गरेपछि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की अप्ठ्यारोमा पर्नु भएको छ ।उहाँले आफ्नो अप्ठ्यारोको विषयमा मंगलबार सत्ता सहयात्री दल नेकपाका नेताहरूसँग छलफलसमेत गर्नु भएको छ ।विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा भएको छलफलमा मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप, एमालेका सांसद रेवतीरमण भण्डारी तथा नेकपाको तर्फबाट प्रदेश इन्चार्ज राजेन्द्र राई, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश संयोजक हर्कबहादुर नेम्वाङको उपस्थिति थियो । बैठकमा कार्की इतर पक्षका मानिने खानेपानी तथा सिँचाइ मन्त्री तथा एमालेका केन्द्रीय सदस्य तिलचन पाठक भने केही बेर बसेर निस्किनु भएको थियो ।
छलफलमा सहभागी एक नेताका अनुसार मुख्यमन्त्री कार्कीले आफ्नो राजीनामाको विषय आएको र अब के गर्ने भन्ने विषयमा सत्तासहयात्री दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेतालाई सोधनु भएको थियो । जवाफमा नेकपाका नेताहरूले राजीनामा दिन नहुने र ढुक्कले सरकार चलाउनु पर्ने बताएका थिए । नेकपाका नेताहरूको साथ पाएपछि मुख्यमन्त्री कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीले मौखिक रूपमा भनेकै आधारमा राजीनामा नदिने मनस्थितिमा पुगेको उहाँ निकट स्रोत बताउँछ ।छलफलमा सहभागी एमाले सांसद रेवतीरमण भण्डारीले भने नेकपाका नेताहरूले बाहिर आएको समाचारका विषयमा जिज्ञासा राखेपछि मुख्यमन्त्रीले स्पष्ट पारेको बताँउनु भयो । ‘उहाँहरूले बाहिर आएका समाचारका विषयहरू के हुन् ?राजीनामाको हल्लाको विषय हो कि के हो भन्ने विषयमा कुरा राख्नुभयो,’ भण्डारीले भन्नु भयो, ‘मुख्यमन्त्रीले त्यो हल्ला मात्रै भएको र सत्य नभएको भनेर स्पष्ट पार्नुभयो ।’
छलफलमै सहभागी अर्का नेताले मुख्यमन्त्री कार्कीले कोही व्यक्तिले भन्दैमा राजीनामा नदिने स्पष्ट पारेको दाबी गर्नु भयो। ‘पार्टीले सर्वसम्मत निर्णय गरेर पठाए राजीनामा दिने हो । कसैले व्यक्तिगत हिसाबले भनेर राजीनामा दिन्न भनेर भन्नुभयो,’ कार्कीको भनाइ उद्धृत गर्दै ती नेताले भन्नु भयो ।नेकपाका प्रदेश संयोजक हर्कबहादुर नेम्वाङले भने अहिले मुख्यमन्त्रीले राजीनामा दिन नहुने विषयमा आफूहरुको अडान रहेको बताँउनु भयो ।‘अहिले उहाँले राजीनामा दिनु हुँदैन,’ नेम्वाङले भन्नु भयो, ‘त्यही अस्थिरताको कारण हामीलाई फागुन २१ को निर्वाचनमा ठूलो धक्का लागेको छ । हामीले त्यहाँबाट पाठ सिकेर सरकार फेरबदलमा लाग्नु हुँदैन भन्ने पार्टीको स्पष्ट अडान हो । हिक्मतकुमार कार्कीकै सरकार अहिले टिकाइराख्नुपर्छ भन्ने हाम्रो धारणा पनि हो ।’
उता, एमालेका मुख्यमन्त्री कार्कीले एमाले प्रदेशका इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतसँग छलफल नगरेर अर्को पार्टीका नेतासँग बढी हिमचिम गरेको भन्दै एमालेकै केही नेताहरू असन्तुष्ट बनेका छन् ।‘नेकपाले उहाँको सरकार बचाइदिन्छ रे ?,’ एमालेका एक नेताले प्रश्न गर्नु भयो, ‘त्यसो हो भने उहाँ कुन पार्टीको ? एमालेले भनेको मान्ने, एमालेसँगै बढी छलफल गर्ने कि अरुसँग ? यसले उहाँको राजनीतिक भविष्य सखाप हुने निश्चित भयो ।’ती एमाले नेताले अहिले नै सबै कुरा भन्न नसकिने भन्दै एकै पटक एक्सनमा जाने पनि बताउनु भयो । ‘भएको दिन त भइहाल्छ नि,’ उहाँले भन्नु भयो, ‘के हुन्छ कसो हुन्छ त्यही दिन सकिन्छ ।’ मुख्यमन्त्री निकट एक नेताले भने अब भिडेरै जाने दाबी गर्नु भयो । ‘अब ल्याङल्याङ धेरै भयो । भिडेरै जाने मनस्थितिमा मुख्यमन्त्री हुनुहुन्छ,’ ती नेताले भन्नु भयो ।
पछिल्लो समय एमाले नेता शेरधन राई, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा लगायत केही प्रदेश सांसदहरूले अध्यक्ष ओलीलाई भेटेर मुख्यमन्त्री कार्कीको राजीनामा माग्दै दबाब दिइरहनु भएको छ।यसअघि गत साउन २० गते अध्यक्ष ओली, मुख्यमन्त्री कार्की, प्रदेश अध्यक्ष खतिवडा र सचिव राजकुमार भण्डारीसहितका नेताहरूबीच यस विषयमा छलफल भएको थियो । उक्त छलफलमा दसैँ–तिहारपछि मुख्यमन्त्री कार्कीले राजीनामा दिने तथा अध्यक्ष ओलीले दिएको निर्देशन पालना गर्ने सहमति भएको थियो ।एमाले अध्यक्ष ओलीले मुख्यमन्त्रीमा कार्कीको विकल्पको रूपमा दलका उपनेता तिलकुमार मेन्याङ्बो (लिम्बू) लाई अगाडि सार्नु भएको छ । यसअघि नै ताप्लेजुङका एमाले नेताहरूले मेन्याङ्बोलाई मुख्यमन्त्री भन्दै बधाई दिएका थिए ।
एमाले कोशी प्रदेशका इन्चार्जसमेत रहेका पार्टी सचिव शेरधन राईले यसअघि अध्यक्ष ओलीसँगै अन्य ४ जना पार्टीका नेताहरूलाई साक्षी राखेर मुख्यमन्त्रीले राजीनामा दिने बताएको स्मरण गर्नु भयो । ‘म त त्यो छलफलमा थिइन । तर, उहाँले त्यसबेला अध्यक्षलाई राजीनामा दिन्छु भन्नु भएको थियो भनेर छलफलमा सहभागी साथीहरूले भन्नुभएको छ । अब त्यो प्रतिबद्धता कार्यान्वयन हुन्छ होला,’ राईले भन्नु भया।कोशी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३र८४ का लागि ल्याएको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको अनुमानित बजेट प्रदेशसभाबाट पारित गर्ने सन्दर्भमा पनि सरकार ढाल्ने खेल भएको थियो । बजेट संशोधन गर्ने सहमति पछि उक्त प्रयास असफल भएको थियो ।यस्तै तत्कालीन काँग्रेससँगको समीकरण तोड्दै गत भदौ १ गते सरकार गठन हुनु अगाडि नै साउन महिनाभर एमालेबाटै नयाँ मुख्यमन्त्री बनाउने प्रयास सुरु भएको थियो । यद्यपि कार्कीले आफू संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेको भन्दै राजीनामा नदिने अडान राख्नु भएको थियो । उक्त अडानमा नेकपा कोशीका नेताहरूले पनि साथ दिएका थिए ।










