पथरी, २७ बैशाख / मोरङको पथरी शनिश्चरे नगरपालिमा जारी नगर स्तरीय अन्तर क्लब फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा देवीगञ्ज फुटबल क्लब विजयी हुँदै फाइनलको यात्रा तय गरेको छ ।
सो दोस्रो सेमिफाइनलमा सुनौलो कल्याण एफसीलाई ५–० को विशाल अन्तरले पराजित गर्दै देवीगञ्जले फाइनल यात्रा तय गर्दै प्रभात एफसीसँगको भेट पक्का गरेको हो ।
पहिलो हाफसम्म निकै प्रतिष्पर्धात्मक रहेको खेलमा दुवै टिमले गोल गर्ने अवसरहरु प्राप्त गरे पनि गोल हुन सकेन ।
देवीगञ्जका स्ट्राईकर मिक्सन दासले खेलको ४७ औं मिनेटमा पहिलो गोल गर्दै आफ्नो टिमलाई १–० को अग्रता दिलाएको अवस्था थियो । पहिलो गोल गरेको ५ मिनेटमा मिक्सनले दोस्रो गोल गर्दै देवीगञ्जलाई २–० को अग्रता दिलाउनु भयो । यस्तै, दोस्रो हाफमा एकतर्फी बनेको खेलको ६५ औं मिनेटमा देवीगञ्जका क्याप्टेन सन्तोष न्यौपानेले १ गोल थप्नु भएको थियो भने ६८ औं मिनेटमा मिक्सनले ह्याट्रिक पूरा गर्दै आफ्नो टिमलाई ४–० अग्रता दिलाउन सफल बनाउनु भयो । दोस्रो हाफको समाप्तिसँगै थप गरिएको अतिरिक्त समयमा देवीगञ्जका खेलाडी छोसाङ गुरुङले १ गोल गर्नुभयो ।
अन्ततः ५–० को अन्तिम नतिजासँगै खेलको म्यान अफ द म्याच देवीगञ्जका ह्याट्रिककर्ता मिक्सन दास घोषित हुनु भयो । प्रतियोगिताको फाइनल खेल वैशाख ३० गते प्रभात एफसी. र र देवीगञ्ज एफसीबीच हुनेछ ।









