पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।
सोमबार सम्पन्न म्याराथनको उपाधि पुरुषतर्फ भिसन राईले र महिलातर्फ अंकिता राईले उपाधि जित्नु भएको छ ।
भिसनले १० किलोमिटर दूरी २६ मिनेट ५७ सेकेन्डमा र महिलातर्फकी धाविका अंकिता राईले ३८ मिनेट १६ सेकेन्डमा पार गरेर उपाधि हात पार्नुभएको हो । पुरुषतर्फ सोनुप राई द्वितीय, आशिष मण्डल तृतीय र प्रशान्त पौडेल सान्त्वना बन्नु भयो । राईले २७ मिनेट २० सेकेन्ड, मण्डलले २७ मिनेट ३७ सेकेन्ड र पौडेलले २७ मिनेट ५६ मिनेटमा दुरी पार गर्नुभएको थियो ।
यसैगरी, महिलातर्फ स्मारिका गौतम द्वितीय,, सुविस्म लिम्बु तृतीय र मनिका माझी सान्तवना बन्नु भयो । गौतमले ४१ मिनेट २८ सेकेन्ड, लिम्बुले ४२ मिनेट ३ सेकेन्ड र माझीले ४२ मिनेट ५० सेकेन्डमा दूरी पार गर्नुभयो ।
पथरी शनिश्चरे वडा नम्बर ८ को मंगलबारे बजारबाट किर्तिपरहुँदै सुन्दरीचौकसम्म गराइएको दौड प्रतियोगितामा सानो उमेर १२ का चोलुङ सेर्माले पनि दौड पूरा गर्नुभएको थियो । विजेता, उप–विजेताहरुलाई समापन कार्यक्रममा पुरस्कृत गरिने नगर खेलकुद विकास समितिका सदस्य सचिव नविन खुलालले जानकारी दिनुभयो ।
दौडको उद्घाटन नगर उप–प्रमुख देवीमाया काफ्लेले रिबन काटेर गर्नुभएको थियो । दौड प्रतियोगितामा वडाध्यक्षहरु उद्धवराज बस्नेत, लोककिरण न्यौपाने, नविनजंग कार्की लगायतको उपस्थिति रहेको थियो ।









