काठमाडौं, ६ जेठ । विश्वभरका हिमाल आरोहीहरु जम्मा पारेर नेपालमा आउँदो जेठ १३ गते ‘एभरेष्ट समिटर समिट’ आयोजना हुँदैछ ।
हिमाल आरोहीहरुको अनुभव आदान–प्रदानका साथै साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एभरेष्ट एलाइन्स नेपाललले यो सम्मेलन आयोजना गर्न लागेको हो ।
एभरेष्ट एलाइन्स नेपालका अध्यक्ष सुदर्शन नेपाल यस्तो सम्मेलन नेपालमै पहिलोपटक हुन लागेको दाबी गर्नुहुन्छ । उहाँका अनुसार सम्मेलनमा भाग लिन हालसम्म १६ देशका एक सय ७७ आरोहीले नाम दर्ता गराइसकेका छन् । समिटमा सगरमाथाको सफल आरोहण गरेका विश्वभरका पाँच सय आरोहीको सहभागिता रहने आयोजकले जनाएको छ ।
सम्मेलनमा सर एडमन्ड हिलारीसँग सगरमाथा आरोहण गरेका कान्छा शेर्पालाई सम्मानसमेत गरिने बताइएको छ । त्यस्तै हिमाल आरोहीका समस्या र आरोहणका क्रममा भएका खुसीहरु पनि आदानप्रदान हुनेछ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावका बारेमा पनि सम्मेलनमा बृहत् छलफल हुनेछ ।
सम्मेलनले नेपाल भ्रमण गर्न आउने तथा बढी खर्च गर्ने पर्यटकलाई हौसला प्रदान गर्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने पर्यटन व्यवसायीको विश्वास छ ।









