कहिल्यै सुन्नुभएकाे छ एउटा यस्तो गाउँको कथा, जहाँ विगतमा मडारिने सुर्तीकाे धुवाँ अहिले उज्यालोमा परिणत भएको छ ।
सिक्रे—भोजपुरको एक सानो तर गर्विलो गाउँ। कहिल्यै कुनै नक्शामा अग्लो अक्षरमा नचढेको, तर मानिसको मेहनतले इतिहास लेख्ने ठाउँ। यो गाउँ पहिले जरायोटार गाविस वडा नम्बर ५ मा पर्थ्याे, संघीयतापछि भने अरुण गाउँपालिका वडा नम्बर ७ मा सुन्दर पहिचान बनाउँदैछ।
कहिले काहीँ, त्यो गाउँमा बिहानैको कुहिरोमा हराउँदै किसानहरू सुर्तीका बिरुवा स्याहार्थे। घरघरमा बदामका थुप्रा सुकिरहेका हुन्थे—बालकहरूले लुक्दै–छिप्दै नटिपुन् भनेर गाउँका बूढी आमाहरूको नजरले तिनलाई छोएर जान्थ्यो। खेतबारीमा पानीझैं पसिना बग्थ्याे, अनि साँझमा त्यो पसिना—थोरै आशा र धेरै थकानसहित—चुल्होको आगोमा मिसिन्थ्यो।
तर समयको पखेटा फरक दिशामा फर्फरायो।
पहिले अति विकट भनिने सिक्रे, अहिले भने आफूलाई नयाँ पहिचान दिन आतुर छ। गाउँमा सडकको गडगडाहट आउन थालेको छ—पहाड काटेर मात्र होइन, मानिसहरूको सोच फोरेर पनि। एक समय घाँस बोकेर उकालो ओरालो गर्ने चेलीहरु , अहिले स्मार्टफोनमा गाउँका प्रगतिको भिडियो खिच्दै छन्। शिक्षाकाे ज्याेति खाेज्दै शहर पुगेका युवा अब गाउँ फर्केर व्यवसाय थालिरहेका छन्।
त्यही गाउँका विनाेद, जो कुनै समय सुर्ती बेचेकै भरमा जीवन चलाउँथे, अहिले रूद्राक्ष व्यवसायबाट राम्रे तरक्की गरेका छन्। विदेशी पाहुनाहरू गाउँकै पिङ खेल्न आइपुग्छन्। बदाम अब बजारमा मात्र हाेइन, फेसबूकको पेजमा पनि बिक्न थालेकाे छ ।
बुढी आमा, जसले पहिला कहिल्यै गाउँ छाडिनन्, अचेल भन्छिन्, “हाम्रो सिक्रे अब सहर बन्ने तर्खरमा छ। यो बाआमाले देख्न नपाएको सपना मैले देखिरहेकी छु।”
त्यो सपना अब सिक्रेका हरेक आँखामा छ—त्यो सपना हो, उकालो बाटो पार गर्ने आँटको, र सानो गाउँलाई ठूलो बनाउने साहसको।
सिक्रे अब सुर्तीको बास्नाबाट होइन, सम्भावनाको सुवासबाट चिनिन थालेको छ।









