वुद्धशान्ति, ७ जेठ । झापाको वुद्धशान्ति गाउँपालिका—५ आयाबारीस्थित पाँचपोखरी सामुदायिक वनभित्र एउटा जङ्गली हात्ती मृत भेटिएको छ ।
यो त्यही हात्ती हो, जुन साढे दुई महिनाअघि घाइते अवस्थामा भारतबाट नेपाल छिरेको थियो । वन कार्यालयका पशु चिकित्सक र हात्ती संरक्षणकर्मीको समुहले उपचार गरेपछि तङ्ग्रिएको त्यही ‘घुमन्ते गज’ वुधवार मृत भेटिएको हो ।
यो हात्तीलाई पाँचपोखरी सामुदायिक वनको सिमसार क्षेत्रमा वुधवार दिउँसो करिव १ वजेतिर स्थानीयले मृत फेला पारेका थिए । हात्ती मरेको सूचना पाएपछि वन कार्यालयका सुरक्षाकर्मीसहित कर्मचारी र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
घटनास्थल मुचुल्कापछि हात्तीको पोस्टमार्टम गरियो । डिभिजन वन कार्यालयका पशु चिकित्सक सोनाम भालसहितको टोलीले करिव साढे दुई घण्टा लगाएर हात्तीको पोस्टमार्टम गरेको थियो ।
पोस्टमार्टमपछि हात्तीलाई त्यही नजिकै खनिएको खाडलमा पुर्न तयारी गरियो । तर, त्यसअघि स्थानीय बासिन्दाले अन्तिम संस्कारको विधि पूरा गरे । यो काममा अस्थायी प्रहरी चौकी मङ्गलबारेमा कार्यरत नारायण श्रेष्ठ सहित केही स्थानीय जुटे । उनीहरुले सुरुमा धुप सल्काए । हात्तीको मृत शरीरमा अविर छरिदिए । त्यहाँ उपस्थित अधिकांशले हात्तीलाई माटो पनि दिए । यो दृश्यले मानव र वन्यजन्तुबीचको आत्मीयता कस्तो हुन्छ भन्ने प्रस्ट संकेत गरिरहेको थियो ।
यो पनि पढ्नुहोस्- https://ujyaalokhabar.com/archives/28830
स्थानीयका अनुसार लामो उपचारपछि केही तङ्ग्रिएको हात्ती आहाराको खोजीमा गाउँ पस्ने गथ्र्यो । साथमा अरु हात्ती पनि आउँथे । तर, घाइते खुट्टो खोच्याउँदै हिंड्नुपर्दा त्यो हात्ती टाढा पुग्न भने सकेको थिएन ।
दुई दिनअघि भने हात्ती निकै गलेजस्तो देखिन्थ्यो । त्यसलाई अर्को एउटा हात्तीले सुँढले तान्दै जङ्गलतिर लगेको स्थानीय बासिन्दा बताउँछन् ।









