दमक, ८ जेठ । फोहोर व्यवस्थापनमा लापरवाही गरी मानव मलमुत्र (दिसाजन्य फोहोर) खोलामा फ्याँक्ने झापा सेफ्टी ट्याङकीलाई झापाको दमक नगरपालिकाले १५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
शौचालयबाट निकालिएको दिसाजन्य फोहोर झापा सेफ्टी ट्यांकी दमकले दमक २ स्थित डाकिनी खोला किनारमा लगेर फ्याँकेको पाइएकाले नगरपालिकाले सो जरिवाना गराएको हो ।
दमक २ डाकिनी चोकदेखि १०० मिटर पूर्वमा रहेको खोलामा सो ट्याङकीले त्यसखाले फोहोर फ्याँकेको प्रमाणित भएकाले फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ को खण्ड (क) बमोजिम कसुर गरेको ठहर गर्दै सो जरिवाना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीद्धारा हस्ताक्षरित नगरपालिकाको आधिकारिक पत्रमा उल्लेख छ ।









