दमक, १० बैशाख / दमक बजार क्षेत्रमा ठूलाखाले पक्की गमला राखिएका छन् । ती गमलामा बिभिन्न जातका फूल तथा विरुवा रोपिएका छन् । केही बिरुवा हुर्केका छन् । कुनै गमला खाली छन् । बजार क्षेत्रमा देखिएका यस्ता गमला र त्यसका विरुवाहरु प्राय गरेर दमक बजारमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले उपलब्ध गराएको हो । तिनको सम्बद्र्धन र संरक्षण चाँहि कत्तिको भएको छ त भन्नेमा धेरैले प्रश्न तेर्स्याउने गरेका छन् ।
शनिबार दमक बजारस्थित हनुमान मन्दिरदेखि दक्षिणतर्फ पशुहाट झर्ने सडकको किनारमा सूर्यदर्शन दमकका कर्मचारीहरु एकै पटक भेला भए । सामान्य औपचारिक कार्यक्रम गरे । त्यसपछि सबैले हात हातमा विरुवा र दुई जनाले पनि उचाल्न नसक्ने गमलाको व्यवस्थापनमा कोही लाग्न थालिहाले । कसैले गमलामा माटो भर्न थाले । कोही त्यही माटोलाई भिजाउन र बिरुवा रोप्न व्यस्त भए । यसरी यी विरुवाहरु सहकारीले आफ्नो वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा हरेक वर्ष वितरण गर्दै आएको छ ।
यो वर्ष पनि त्यही कामको निरन्तरता दिएको संस्थाका अध्यक्ष टीकाराज सापकोटाले जानकारी दिनुभयो । अहिले सम्म २ हजार हाराहारीका विरुवा यसरी नै समुदायलाई हस्तान्तरण गरिएकोले यसको संरक्षण चाँहि सम्बन्धित टोल वा सडक छेउमा रहेको पसलेले गर्नु पर्ने उहाँको भनाई छ ।
विरुवा तथा फूलले यो ठाउँको शौन्दर्यता बढाउँछ । वातावरण सफा बनाउँन मद्धत गर्छ । आफ्नो घर वा पसल अगाडि फूलको गमला हुँदा त्यहाबाट प्राप्त हुने उर्जाले आफुहरुमा सकारात्मकता समेत प्रदान गर्ने भएकोले यसको संरक्षणमा स्वंम टोलबासी हुनुपर्ने र यसको संरक्षण गर्न आफुहरु तयार रहेको दमक ७ स्थित पञ्चमुखी टोल विकास संस्थाका वासिन्दाहरु टंक प्रसाद आचार्य र तारा प्रसाद उप्रतीले प्रतिवद्धता समेत जनाउनुभयो ।
टोल, गाउँ र सडक किनारनै उज्यालो बनाउने यो अभियान राज्यको तहबाट गरिनुपर्ने हो तर एउटा संस्थाले नै गरेकोमा यो काम अनुकरणीय रहेको भन्दै यहाँ रहेको आत्म ज्ञान टोल विकास सस्थाका अध्यक्ष केदारनाथ घिमिरेले भन्नु भयो ‘अव यसको हुर्काइ बढाई गर्ने काम हामी आफंै गर्छौ ।’
सहकारी सस्थाले सदस्यहरुबीच बचत र ऋणको कारोबार मात्रै गर्नु उसको स्वार्थ केन्द्रित काम मात्रै हुन्छ । तर यसरी समाज र समुदायसँग समेत जोडिएर काम गर्दा सदस्यको स्वास्थ्य र सामाजिक उत्तरदायित्व रहेको पनि आभास हुन्छ ।
सूर्यदर्शनले बिभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु समेत गरिरहेको छ । यो कार्यक्रम पनि आफ्नो १६ औ स्थापना दिवसको अवसरमा सम्पन्न गरेको सहकारीका बिभागीय प्रमुख होम श्रेष्ठले जानकारी दिनुभयो ।









