विराटनगर, १२ जेठ / विरामीलाई आर्थिक भार पर्ने ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक) सामग्रीमा नयाँ उत्पादन मिति राखेर बजार पठाउने गरेको आरोपमा न्युट्रास्युटिकल एसोसिएसन मोरङका अध्यक्ष बिपिन झालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने डरले भारततर्फ भागेका झालाई विराटनगर आएपछि राजस्व अनुसन्धान कार्यालय इटहरीले पक्राउ गरेको हो । झा माथि ठूलो परिमाणमा राजस्व छलेको आरोप छ । पक्राउ परेलगतै सोही आरोपमा अनुसन्धान अगाडि बढाएको बताइएको छ । यद्यपि झालाई पक्राउ गरेको विषयलाई भने राजस्व अनुसन्धान कार्यालयले गुपचुप राख्ने प्रयत्न गरेको छ । उच्च अदालत विराटनगरमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।
राजस्व कार्यालयले १३ दिनको म्याद थप माग गरेको भए पनि अदालतले पाँच दिनको मात्र अनुमति दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीश प्रसाद भट्टले जानकारी दिनु भयो ।









