दमक, १२ जेठ / गत शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘नरसिंहा अवतार’ का मुख्य कलाकार राजेश हमालसहितको टिम सोमबार झापाको दमक आएको छ ।
चलचित्रको निर्माण टोली आफनो चलचित्र प्रदर्शन भइरहेको बेला देशभरका विभिन्न सिनेमा घरमा भ्रमण गरी दर्शकहरुसँग भेटघाट गरिरहेका छन् । सोही क्रममा दमकमा रहेको डीम्याक्स सिनेमाज्मा पनि अभिनेता हमालसहितका कलाकार र निर्माण पक्षले दर्शकसँग भेटघाट गर्दै सफलताको खुसी साटेको छ । टोलीले दर्शकको प्रतिकृया पनि लिएको छ । यसपछि पत्रकारसग छोटो कुराकानी गर्दै चलचित्रका मुख्य आकर्षक हमालले दर्शकको उत्साहपूर्ण प्रतिक्रिया आइहेको बताउनु भयो । चलचित्रले सामाजिक, राजनैतिक कथा बस्तु बोलेकोेले सबैको रोजाइमा परिरहेको उहाँको तर्क छ ।
सो चलचित्रकी अभिनेत्री सनिशा भट्टराईले आफ्नो अभिनय रहेको चलचित्रलाई दर्शकले मन पराएकोमा खुसी ब्यक्त गर्दै हमालसँगको सहकार्य सम्झनालायक भएको बताउनु भयो । यस्तै, चलचित्रका निर्माता समेत रहेका अभिनेता राज कटुवालले लामो समयदेखि अभिनेता हमालको चलचित्र पर्खेर बसेका दर्शकहरुलाई बिशेष उपहार भएको प्रतिक्रिया दिनुहुन्छ ।
चलचित्रमा हमालसंगै सरोज खनाल, नीर शाह, आशा पौडेल, सनिशा भट्टराई, समाइरा थापा, अमित गिरी, प्रभु श्रेष्ठ, दीपा शाही, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, उषा खड्गी, नीति शाह, राज कटुवालसहितको अभिनय रहेको छ ।
चलचित्रमा राजुविक्रम थापाको छायाँकन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द निर्देशन तथा मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ । ‘‘नरसिंहा अवतार’ सामाजिक, पारिवारिक र न्यायको पक्षमा आधारित कथामा निर्माण गरिएको निर्माण पक्षको भनाई छ ।









