भद्रपुर, १७, जेठ । माईखोलाको बाढी बस्तीमा पस्दा झापा गाउँपालिका–२ स्थित सुगाबथानका २२ घर डुबानमा परेका छन् ।
मनसुन सुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेकाे हाे । डुबान क्षेत्रका स्थानीयहरू भने सुरक्षित स्थानतर्फ सरेका छन् । झापा- २ का वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ ।
उता गए रातिदेखिको अविरल वर्षाका कारण लेउती खोलाको बाढीले सडक बगाउँदा कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको छ ।
बाढीले साागुरीगढी गाउँपालिका–६ मा पर्ने १०० मिटर सडक बगाएको प्रहरीले बताएको छ । बाढीले सडक बगाएपछि अवरुद्ध भएको यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भइरहेको वताइएको छ ।
सडक अवरुद्ध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुड र पाँचथरसम्मको यातायात ठप्प भएको छ ।









