दमक, १९ जेठ । झापाको दमक नगरपालिकामा अविरल वर्षासँगै आएको हावाहुरीले विभिन्न भौतिक संरचनामा क्षति पुर्याएको छ।
शनिबार राति मिति २०८२ जेष्ठ १८ गते अन्दाजी राती ९ बजेतिर दमक नगरपालिका–९ स्थित तुलसी बहुमुखी सहकारी संस्थाको भवन अगाडि ठूलो क्षति भएको हो।
बन्द अवस्थामा रहेको सहकारीको अगाडिको सम्पूर्ण सिसा फुटेर झरेको छ।
सोही भवन अगाडि पार्क गरी राखिएको मे १ ज २०३० नम्बरको बोलेरो गाडीको अगाडिको सिसा फुट्नुका साथै गाडीको अगाडिको बनोटसमेत कुच्चिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै, सो भवनको माथिल्लो भागमा लगाइएको ट्रस हावाले उडाएर नजिकैको दाजुभाइ पसलमा झरेको छ। सो पसल कमला पोखरेल (भट्टराई) द्वारा सञ्चालित रहेको थियो। ट्रस झर्दा पसलको छानोमा समेत क्षति पुगेको छ।
घटनाबाट अन्य थप क्षतिको विवरण भने हालसम्म स्पष्ट भइसकेको छैन। क्षतिको विस्तृत मूल्याङ्कनका लागि सम्बन्धित निकायहरूबाट अनुगमन भइरहेको जनाइएको छ।









