दमक, ६ असार | नेपाल सरकारले सबै नागरिकलाई समावेश गर्ने स्वास्थ्य बीमा कार्यक्रम संचालनमा ल्याएको वर्षौं भइसक्यो। तर, झापाको शिवसताक्षी ४ की विना ताँतीले भोग्नुपरेको पीडा र अपमानित अनुभवले देखाउँछ यो बीमा प्रणाली कागजमा मात्रै सबल छ, व्यवहारमा झन् धेरैलाई निराश बनाउने बनेको छ।
बुधवार बिहान बिरामी भएपछि विना ताँती नजिकैको शिवगंज स्वास्थ्य चौकी पुगिन्। त्यहाँको प्रारम्भिक परीक्षणपछि चिकित्सकले भने, “यहाँ साधन छैन, तुरुन्त दमक वा बिर्तामोड लग्नुहोस्।”
परिवारले निर्णय गर्यो दमकको निम्स अस्पताल लैजाने। शिवगंज चौकीबाट रेफर समेत बनाएर उनीहरू दमक पुगे। तर, निम्स अस्पतालको बीमा काउण्टरमा पुगेपछि अस्पतालको सिस्टममा उनको रेफर देखिएन। कारण रेफर पुर्जिमा राखिएको बीमा नम्बर गलत थियो।
‘सिस्टममा छैन रेफर’, उपचारनै रोकियो
स्वास्थ्य बीमा कार्डमा अंकित बीमा नम्बर र रेफर कागजमा उल्लेख गरिएको नम्बर नमिलेपछि, अस्पतालले ‘सिस्टममा छैन’ भन्दै उपचार गर्न नमानेको विना र उनका श्रीमान् रामशरण दासको गुनासो छ।
“यो हाम्रो मात्रै पीडा होइन, यहाँका धेरै नागरिकलाई स्वास्थ्यकर्मीको गल्तीले उपचार नपाई घर फर्कनु परेको छ,” श्रीमान् दासले गुनासो गरे।
उनका अनुसार, स्वास्थ्य संस्थामा रेफर तयार पार्ने बेलामा नाम, जन्म मिति, उमेर, र बीमा नम्बरमा लगातार गल्ती हुने गर्छ। जसको सीधा असर बिरामीको स्वास्थ्य र समयमा पर्छ।
दुइ पटक उपचार नपाएका अर्का सेवाग्राहीको अनुभव
श्यामसुन्दर राजवंशी पनि यस्तै पीडितमध्ये एक हुन्। उनी भन्छन्, “शिवगञ्ज चौकीले रेफर बनाएर पठाउँछ, तर कार्डमा नम्बर मेल खाँदैन। कहिले जन्म मिति गलत, कहिले नाम नै फरक। मलाई दुई पटक यस्तो भयो।”
उनी जस्ता थुप्रै सेवाग्राहीले भन्न थालेका छन्, “रेफर लिन आफैं एक पीडा बनेको छ।”
स्वास्थ्य संवेदनशील क्षेत्र तर कर्मचारीको लापरवाही घातक
शिवगञ्ज स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक डा. देव शंकर पासवान नै मेडिकल अधिकृत हुन् तर उनलाई सम्पर्क गर्न खोज्दा सम्भव भएन। उनी यस विषयमा जवाफ दिन तयार नभएको सेवाग्राहीको भनाइ छ।
बिरामीलाई घरबाट अस्पताल ल्याउनै झन्झट। एक पटक दमक आउन र फर्कन झन्डै ५०० रुपैयाँ खर्चिन्छ, जुन एक दैनिक मजदुरको सम्पूर्ण दिनको कमाइ हो। तर, अस्पतालकै ढोकामा पुगेर ‘सिस्टममा छैन’ सुन्नु परेपछि नागरिकको आक्रोश स्वाभाविक छ।
‘बीमा नामको बोझ, सेवामा जीर्णता’
शिवगञ्ज जस्ता प्राथमिक स्वास्थ्य केन्द्रहरूले बीमा प्रणाली सही तरिकाले सञ्चालन नगर्दा, त्यसको मार नागरिकले स्वास्थ्य र पैसामा बेहोर्नु परेको छ।
कागजमा छ, नागरिकको उपचारमा सरकारले सुविधा दिने। तर व्यवहारमा साधारण गल्तीले नागरिकलाई उपचारविहीन बनाइदिन्छ।
यसरी एकपटक होइन, पटक–पटक यस्तै गल्तीहरू हुँदै आएकाले, अब यो व्यवस्थागत लापरवाहीलाई राज्यले गम्भीरतापूर्वक नहेर्ने हो भने स्वास्थ्य बीमा प्रणाली नै नागरिकको विश्वास गुमाउने अवस्थामा पुग्ने निश्चित देखिन्छ।
स्वास्थ्य सेवा हरेक नागरिकको मौलिक हक हो। बीमा प्रणालीले जनताको अधिकार रक्षा गर्न बनेको हो, बाधा बन्न होइन।
 
								 
								 
								 
											 
								 
								 
								 
								 
								 
								 
								








