दमक,२६ असार । शेयर बजार बिहिबार पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से बिहिबार २५ दशमलव ८९ अङ्कले बढेर २ हजार ७ सय ३१ दशमलव ० विन्दुमा पुगेको छ ।
बिहिबार जलविद्युत्, व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बैंकिङ समूहको शेयर ३ प्रतिशतले उकालो लागेको छ । माइक्रोफाइनान्स समूहको शेयर १ दशमलव ४६ प्रतिशत र विकास बैंक समूहको शेयर १ दशमलव १२ प्रतिशतले बढेको छ ।
बिहिबार माई खोला हाइड्रोपावर कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन कर्पाेरेट विकास बैंकको शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।
बिहिबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ७ अर्ब ४५ करोडको कारोबार भएकोमा बिहिबार ३ सय १२ वटा कम्पनीका २ करोड ६४ लाख कित्ता शेयर ९ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएको छ ।









