दमक, २६ असार | झापाको दमक नगरपालिका–४ स्थित सिटी सफारीमा लुकेर अवैध रुपमा लागुऔषध ओसारपसार गर्दै गरेका चार जना युवा प्रहरीको फन्दामा परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार, असार २६ गते दिउँसो ४:३० बजेको समयमा आशा कलेज पछाडिको बाटोमा चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा दमक–४ बस्ने वर्ष १९ की प्रिया तामाङ, दमक–५ बस्ने वर्ष १९का सुमित सुन्दरात, वर्ष २१ का प्रविन चेपाङ्ग र बाह्रजोगिनी बस्ने वर्ष २७ का मनोज खनाल रहेका छन्। उनीहरू सिटी सफारीमा बसेको अवस्थामा कालो रङको झोलामा लुकाइछिपाई राखिएको अवस्थामा भेटिएका थिए।
प्रहरीले उनीहरूको साथबाट Tramadol Hydrochloride Capsules IP 50 mg लेखिएको ३५ पत्ता (३५० क्याप्सुल) र Anargan-25 लेखिएको ३५ पत्ता (३५० क्याप्सुल) लागुऔषधसहित फेला पारेको जनाएको छ। त्यससँगै उनीहरूको साथबाट विभिन्न दरको रु १५०० नगदसमेत बरामद गरिएको छ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमक ल्याई थप अनुसन्धान गरिरहेको जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय दमकबाट करिब ४ किलोमिटर पश्चिम पर्ने बताइएको छ।
लागुऔषध कारोबार र युवा समुहको संलग्नता निरन्तर बढ्दै गइरहेका बेला प्रहरीले पक्राउ गरेका यी व्यक्तिहरूलाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ।








