दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक प्रशिक्षण तालिम सफलतापूर्वक सम्पन्न गर्ने साधक–साधिकालाई प्रमाणपत्र वितरण गरेको छ।
समारोहका प्रमुख अतिथि दमक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष धर्मप्रसाद दहाल (दिपेश)ले तालिम पूरा गरेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै योग अभ्यास र प्रशिक्षकको भूमिकालाई समाजमा अनुकरणीय र सकारात्मक परिवर्तनको संवाहकको रूपमा व्याख्या गरे।
कार्यक्रममा विशेष सम्मानका रूपमा योग साधना केन्द्रका गुरु उमेश धिमिरेलाई सम्मान गरिएको थियो। साथै, सहभागी साधिकाहरूले आकर्षक र मनोरञ्जनात्मक सांस्कृतिक नृत्य प्रस्तुत गर्दै गुरुहरूको योगदानप्रति सम्मान प्रकट गरे।
कार्यक्रममा पतञ्जली योग समिति झापाका जिल्ला सदस्य धनश्याम प्याकुरेल, मिडिया प्रभारी सोमनाथ आचार्य, दमक नगर समिति महामन्त्री धनपति ओडारी लगायतले प्रशिक्षण प्राप्त प्रशिक्षकहरूलाई शुभकामना व्यक्त गरेका थिए।
गुरु पूर्णिमाको अवसरमा योग शिक्षक ओमप्रसाद खनालले गुरुको महत्त्वमाथि प्रकाश पार्दै उपस्थित सबैलाई हार्दिक शुभकामना दिए।








