पथरी, २८ असार / झापामा मात्र नभएर मोरङमा पनि केही समययता गाईगोरुमा ‘लम्पी स्किन’ रोगको प्रकोप देखा परेको छ ।
झापाका सबै १५ वटै तहमा यसको सङ्क्रमण देखिएको र गाईगोरु मर्ने क्रम बढिरहेको बेला मोरङमा पनि उस्तै समस्या रहेको छ । जिल्लाको उत्तरपूर्वी क्षेत्र पथरी शनिश्चरे, सुनवर्षीलगायतका पालिकाहरुमा गाईगोरु ‘लम्पी स्किन’ ले मर्दै आएका छन् । पथरी शनिश्चरे १० मा यो प्रकोप बढी देखिएको छ । सो वडाको जिरिखिम्तीमा कृष्णप्रसाद ढुंगानासहितका गोठमा गाईका बाच्छा बाच्छी मर्न पुगेका छन् । ‘लम्पी स्किन’ रोग फैलिएको अवस्थामा सो पालिकाले निःशुल्क प्रदान गर्ने खोपको भनें अभाव भएका कारण महंगो मूल्य तिरेर खोप किन्दै उपचार गर्न स्थानीय वाध्य छन् । जहाँ निजी क्षेत्रका पशुस्वास्थ्यकर्मीले गाउँ गाउँमा गएर उपचार गरिरहेका छन् । उपचार ढिलो हुँदा गाईगोरु मरेर क्षति भइरहेको छ ।
गत वर्ष ‘लम्पी स्किन’ को भ्याक्सिनको बजेटनै छुट्याइएको भएपनि यो वर्ष बजेट नहुँदा समस्या भएको नगर प्रवक्ता नवीन कार्कीले जनाउनु भयो । नगर पशुपंक्षी शाखा प्रमुख लक्ष्मी घिमिरेले जटिल अवस्थामा भनें केही मात्रामा रहेको खोप प्रयोग गर्ने गरिएको भएपनि धेरै खोप नहुँदा समस्या भइरहेको दर्शाउनु भयो ।
झापामा‘लम्पी स्किन’ रोगको सङ्क्रमण फैलिँदै १४२ वटा गाईगोरु मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापाले जनाएको छ । १० हजारभन्दा बढी गाईगोरु सङ्क्रमित बनेको ६१ वटा गाईगोरु सङ्क्रमित भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शितल भट्टराईले जानकारी दिनुभएको छ ।
जिल्लाभर किसानहरुले पालेका ५७ हजार ३४८ वटा पशुलाई निःशुल्क खोप लगाइएको भट्टराईले बताउनुभयो । गाईगोरुमा मात्र देखिने ‘लम्पी स्किन’ झापामा भैंसीमा पनि देखिएको छ ।









