दमक,२९असार । झापाको दमक नगरपालिकामा निर्माण सम्पन्न भएको मदनडाँगी ताराबारी डिपो सडक स्तरोन्नती आयोजना आज एक विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ।
सडक उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की, दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईं, र अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो।
उक्त आयोजना दमक नगरपालिका–३, ४ र ५ मा पर्ने ४.८६५ किलोमिटर लम्बाइको सडक हो, जसको चौडाइ १५ मिटर राखिएको छ। सडकमा ढक्कनसहितको आरसीसी नाला, फुटपाथ, साइकल लेन, र गाडी गुड्ने भाग, साथै बक्स र पाइप कल्भर्ट समेत निर्माण गरिएको छ।
सडक निर्माणको जिम्मा कन्काई इन्टरनेशनल बिल्डर्स प्रालि, काठमाडौंले पाएको हो। २०७८ बैशाख ६ गते निर्माण सम्झौता भएको यस आयोजनाको ठेक्का रकम ४४ करोड २४ लाख १५ हजार ५२७ रुपैयाँ २५ पैसा (भ्याट सहित) रहेको छ।
विश्व बैंकको ऋण तथा सहयोगमा निर्माण भएको यो आयोजना २०७८ असार ११ गते सम्पन्न हुने लक्ष्य थियो। आयोजनामा राजकुमार थापा निर्माण व्यवसायीको आधिकारिक प्रतिनिधिका रूपमा रहेका छन्।।
नयाँ स्तरोन्नत सडकले स्थानीय यातायातको सहजता, ट्राफिक व्यवस्थापन, र वातावरणमैत्री यात्रा प्रणालीमा महत्वपूर्ण योगदान र्पुयाउने अपेक्षा गरिएको छ।




