दमक, २९ असार / प्रधानमन्त्ती केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको दाबी गर्नुभएको छ । झापाको दमकमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको उल्लेख गर्नुभयो ।
उहाँले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको समेत टिप्पणी गर्नुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्रीहरु शेरधन राई, उद्वव थापालगायत सहभागी हुनुहुन्थ्यो ।
यस्तै प्रधानमन्त्री ओलीले आजै हुलाकी राजमार्गको रतुवा पुल उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज–आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आज उद्घाटन गर्नुभएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले छेउमै नदी भए पनि खेतमा सिंचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने आहन गर्नुभयो ।उहाँले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना कार्य गर्न स्थानीय तहलाई आग्रह गर्नुभएको थियो ।








