दमक,३० असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) का नेपाल तथा भुटान हेर्ने प्रतिनिधि केन सिमिजु बीच सोमबार भेटवार्ता भएको छ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन भएका परियोजनाहरूमा सहयोग पु¥याएकोमा एफएओ प्रति धन्यवाद ज्ञापन गर्नु भएको छ । उहाँले प्रदेशका मध्यपहाडी जिल्लाहरूमा वातावरणीय प्रभाव न्यूनीकरण, उच्च मूल्यका फलफूल उत्पादन, बजारीकरण र व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।
एफएओका प्रतिनिधि केन सिमिजुले प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न आफूहरू तयार रहेको बताउनु भयो । उहाँले कोशी प्रदेशमै सम्पर्क कार्यालय स्थापना गरी सहकार्यलाई थप प्रभावकारी बनाउने योजना रहेको जानकारी दिनु भयो ।उहाँले जैविक विविधता, माटो संरक्षण, चुरे क्षेत्रको वातावरणीय प्रभाव न्यूनीकरणलगायत विषयमा एफएओले कोशी प्रदेशमा काम गरिरहेको उल्लेख गर्दै आगामी योजनाहरूमा समेत सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ।








