दमक ।२ साउन | झापाको दमक नगरपालिका–२ मा अरिङ्गालको टोकाइबाट दुई बालक घाइते भएका छन् । शुक्रवार दमक–२ संगमचोक बस्ने ६ वर्षीय समिर राई र मोरङ उर्लाबारी नगरपालिका–१ बस्ने १० वर्षीय छेवाङ तामाङ अरिङ्गालले टोकेर घाइते भएका हुन् ।
उनीहरू लुकामारी खेल्दै जाँदा दमक–२ स्थित प्रकाश आङदाम्बेले निर्माण गरेर हाल खाली रहेको पुरानो दुईतले काठको घरभित्र पसेका थिए । त्यही घरभित्र रहेको अरिङ्गालको घारलाई चलाउँदा एक्कासि अरिङ्गालले आक्रमण गरेका थिए ।
अरिङ्गालको टोकाइबाट उनीहरूको टाउकोसहित शरीरका विभिन्न भागमा सुन्निने समस्या देखिएको छ । तुरुन्तै उद्धार गरिएका बालकहरूलाई खरखरेस्थित आम्दा अस्पताल, दमकमा लगेर उपचार थालिएको छ । दुबै जनाको अवस्था बोल्न सक्ने र मध्यम रहेको, उपचारमा आफन्त सक्रियताका साथ संलग्न भएको प्रहरीले जनाएको छ ।
स्थानीयले खाली घर वरिपरि यस्ता जोखिमयुक्त घारहरू समयमै हटाउन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।








