गोठाले-जेठा |
२०८१ सालको असोज महिनाको दोस्रो हप्ता सबैको घरघरमा चाड पर्वले छोप्नै लागेको थियो । घर परिवारले चाडपर्व मनाइसकेर मात्र मिवा खोलाको यात्रामा जानु भन्दाभन्दै पनि निर्धारित समयअनुसार हामी ताप्लेजुङ जिल्लाको मिवाखोला घुम्न कान्छा सालोसँग निस्कियौ । इटहरीको फुलबारीटोल, खुवालुङ मार्ग, नाल्बोहाङ हिम जाने बाटो सिधै अगाडि नाल्बो हिमबाट गाडी लिएर धरान धनकुटाको बाटोहुँदै वसन्तपुरतिर लाग्यौं । वाडीमा बजाएको गीत ‘सम्हाल तिम्रो बैस पटुकी कसेर, पोखियो बल्दो जवानी थोपामै खसेर’ सुन्दै सुन्दै उकालो लाग्यांै ।
पानी नपरेको हप्ता दस दिन जति भइसकेको थियो । घाम लागेर बाटो सुक्का थियो । त्यसअघिको वर्षाले बनाएको हिलो सुकेर गाडी दौडिदा धुलो उडेर बाटो नजिक बसिनसक्नु थियो । खेतबारीको डिलमा अम्बक पाकेर पहेंलै थिए । जुरेली र बारुलाले अम्बक खाँदै गरेँको टाढाबाटै देखिन्थ्यो । खेतको आलीमा भटमास रहरलाग्दो गरी फलेको देखिन्थ्यो । सिधुवा पुगेसँगै बारीको कान्लैभरी हरियो कोपीबारी, आलुबारीले मनै लोभ्याउने रमिता हेर्दै हेर्दै बसन्तपुर पुग्यौं । वसन्तपुरको याक होटलमा एकरात बास बसेर बिहानै लालीगुराँस नगरपालिकाका प्रमुख मुन्धुमविद् तथा इतिहासकार अर्जुनबाबु माबुहाङ दाईसँग दुई तीन केजी स्याउ किनेर झोलामा राखेर कफी पिइसकेपछि हाम्रो यात्रा सुरु हुन्छ ।
वसन्तपुर, लसुने, म्याङ्लुङ, फेदापहुँदै आठराई गाउँपालिकाको कार्यालय पुग्यौं । आठराई पुग्दा एक्कासी पानी पर्यो । पानी परेकोले केहीबेर गाउँपालिकाकै कार्यालयमा चिया पिउँदै गफगाफ गर्दै बस्यांै । चिया पिइसकेपछि पालिकाले हामीलाई सम्मान कार्यक्रम राख्यो । गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमको हातबाट खाँदा ओढाएर सम्मान भयो । त्यसपछि सामूहिक तस्बिर खिच्यौं र बिदा माग्दै हामी त्यहाबाट बाटो लाग्यौं ।
निकैबेर पछि हामी माझीटार पुग्यौं । त्यहाँ केरा किनेर खायौं । नागवेली घुम्ती पार गर्दै हामी जोरसाल पुग्यौं । बाटोमा पहिचान झल्किने सालिक बनाएका रहेछन् । सालिकलाई दाहिने पार्दै हामी गन्तव्य तिर लाग्यौं । बेलुकाको ५ बज्नै लाग्दा हामी जोरपोखरीलाई पार गर्दै गोपेटारतिर हुइँकियौं । सबैलाई पिसाबले च्यापेकाले गाडी रोकेर पिसाब फेर्दै गर्दा नेपाली काङ्ग्रेसका नेताहरु मोटरसाइकलमा ओरालो झर्दै थिए । त्यहीं हूलमा पाँचथरका जिल्ला सभापति रुपनारायण जबेगु पनि बाइकको पछि बसेर हुँइकिदै थिए । अर्जुनबाबु माबुहाङ दाईलाई देख्ने बित्तिकै ठूलो स्वरमा आत्तिएको जस्तै गरी ‘मेयर साब मेयर साब एक छिन रोक्नु त’ भन्दै बाइक रोक्न लगाए । अनि केही बेर गफगाफ गरे । त्यसपछि सामूहिक तस्बिर खिचेर आफ्नो – आफ्नो बाटो लाग्यौं । काबेली पुग्दा साँझ परिसकेको थियो । त्यसैले हामी काबेली मै बास बस्ने भयांै । काबेलीमा अर्जुनबाबु दाईको आफन्तको होटल रहेछ, हामी त्यहीं बास बस्यौं । होटलमा पहाडे असला माछा ताजै राख्नु भएको रहेछ फ्रिजमा । त्यही माछा बनाउन लगाएर बेलुकाको खानासँग खायौं । माछा सार्है स्वादिलो थियो । खाना खाएर सबैजना कोठामा पसेर ढल्कियौं ।

आकाशमा जुन, तारा टलटल टल्किएका थिए । काबेली खोलाले आफ्नो संगीत हामीलाई सुनाउँदै आनन्द दिँदै थियो । रातको १०/११ बजेपछि काबेलीको सबै कुकुरहरु एकोहोरो आवाज निकालेर काबेली खोलातिर हेर्दै रुन थाले । कुकुरको रुवाई सुनेर मनमा चिसो पस्यो । बुढापाकाहरुको मुखबाट सुनेको थिए कुकुर रोएको राम्रो सङ्केत होइन भनेर । काबेली खोलाको संगीत र कुकुर रुवाई सुन्दा मनमा डर भएपनि कति बेला निधाएछु पत्तै भएन । बिहान उठ्दा थाहा भयो काबेली खोलाले एक जना बुढा मान्छे बगाएर ल्याएको रहेछ । होटेलको बोजुले चिया पिउँदै लामो स्वरमा यही लास खोलाले बगाएर ल्याउनु रहेछ र पो कुकुरहरु रातभरी रोएका रहेछन् भन्नु भयो । हामी पनि हातखुट्टा धोएर काबेली खोलामा धुपबत्ती बालेर शक्ती माग्न लाग्यौं । अलिक मास्तिर लास अडकिएको रहेछ । लास भएकोतिर मानिसहरू भिड लागेर हेर्दै थिए । हामीले धुप बत्ती बाल्यौं, जल चढायौं र होटलतिर फर्कियांै । होटलमा पुगेर जाउली खोले बनाउन लगायौ र खायौं । त्यसपछि ताप्लेजुङतिर हुइँकियौं ।
नागवेली बाटो पार गर्दै तल गडतिरमा बग्ने सेतो तमोर खोलालाई हेर्दै हामी बाहनन्दे पुग्यौ । वाहनन्देबाट हामी छुट्टिएर देब्रेतिर मोडिँदै दोभानतिर लाग्यौं । वाहनन्देदेखि दोभानसम्मको बाटो एक नम्बर गाग्रेल गर्दै ढल बनाउँदै थिए । गाडी पिच रोडमा हुँइकिए जस्तै गरी हँुइकिदै हामी दोभान पुग्यौ । अन्तिम पटक २०५३ सालमा आमाको साथमा आएको थिए दोभान बजार । त्यो बेलाको जस्तो दोभान बजार मैले यसपाली पाइन । दोभान बजार पुग्नु भन्दा दुई कोस टाढाबाटै सुनिन्थ्यो क्यासेटमा लोक भाकाका गीतहरु । दिनभरी ढाक्रे र हटिया भर्नेहरुले भरिन्थ्यो । सुनदेखि नुनसम्मको व्यापार हुन्थ्यो । दोभान बजारमा व्यापार गर्ने पुराना व्यापारी सुभलाले काइला काकासँग भेट भयो । काका त बुढो भइसक्नु भएछ । दाह्री र जुंगा फुलेछ । काकासँग निकैबेर गफगाफ गरेँ । दोभानकै पुरानो बासिन्दा छत्तिसेनी बोजु पनि बित्नु भएछ । काकाले भनेर थाहा पाएँ । छत्तिसेनी बोजुको नातिनी रुपा पनि विवाह गरेर ताप्लेजुङतिरै गइछिन् । खोलाले पुरै बजार बगाएर लगेछ । २०५३ सालमा आमासँग दोभान बजार आउँदा छत्तिसेनी बोजुको घरमा र सुभलाले काकाको घरमा बास बसेको थियौं । छत्तिसेनी बोजुको घर ढाक्रेहरुले पुरै भरिन्थ्यो । रातभरी गीत बज्थ्यो । दोभान बजार मुग्लान जाने र आउनेहरुले रातभरी जागराम वस्थ्यो । असला माछा र तिते माछा प्रसस्तै पाइन्थ्यो । सुभलाले काइला काकाले २०५३ सालमा आउँदा असला माछा खुवाउनुसम्म खुवाउनु भयो । तर यसपाली दोभान बजार आइपुग्दा विरक्त लाग्यो । पहिलाको जस्तो आजभोलि रहेनछ दोभान बजार । असला माछा चाख्नसम्म नपाइदो रहेछ, तिते माछा पनि नभेटिदो रहेछ । दोभान बजारभरी खोज्दा बल्ल बल्ल एक केजी तिते माछा जम्मा गर्यौ र आधा आधा केजी भाग गरी झोलामा हाल्यौं । हामीले आजभोलि माछा किन नपाएको भन्दै सोध्दा व्यापारीहरुले अनुहार बिगार्दै ‘माछाजति सबै हाइड्रो पावरले खत्तम बनायो’ भन्दै मनको दुखेसो पोखे । मन निकै विरत्तियो ।









