दमक,२९ साउन ।लगातारको वर्षासँगै रतुवा खोलाको पानीको सतह बढेर दमक–८ स्थित रतुवा पुलसम्म पुगेको छ। पानीको बहाव तीव्र हुने बेला सडकमा पानी जम्ने, हिँड्न गाह्रो हुने, र पुल नजिकैको तटबन्ध क्षेत्रमा कटानको जोखिमका समस्या हुने स्थानीयले बताएका छन् ।
बर्खा सुरु हुनु अघि नै बाढीबाट जोगाउने व्यवस्था गर्नुपर्ने स्थानीयको माग भए पनि वर्षा सुरु भइसकेपछि पनि कामको गति शून्य बराबर छ । यो क्षेत्रमा बशोबास गर्ने स्थानीय नागरिक बाढी मात्र होइन, कति खेर बिजुलीको पोल ढलेर क्षति पुर्याउने हो भन्ने डर पनि बोकेर बाँच्नुपरेको छ ।
दमक–८ की कृष्ण कुमारी चिमरयाले रतुवा खोलामा पानी बढ्दा स्थानीय बस्तीमा समस्या हुने बताउनु भएको छ। बाँध निर्माणको योजना भए पनि अहिलेसम्म काम नहुँदा जोखिम यथावत रहेको उहाँको भनाइ छ।
यसरी, संरचना अभाव र कमजोर पूर्वाधारले गर्दा वर्षा याममा दमक–८ का बासिन्दाको दैनिक जीवन प्रभावित हुने गरेको छ।बालुवाटारका स्थानीय नोजुर सेखका अनुसार तत्काल ठूलो समस्या नभए पनि लगातार पानी परेको खण्डमा यहाँका बासिन्दाले ठूलो जोखिम भोग्नुपर्ने अवस्था छ।
दमक–८ का धेरै बासिन्दाले एउटै समस्या अनुभव गरेका छन,् खोलाको बाढी र बिजुलीका पोलको जोखिम । बर्खामा आउने भेल र बाढीले साना बालबालिकालाई सडकमा पानी जम्दा सुरक्षित राख्न गाह्रो पर्ने स्थानीय पुष्पा सुन्दासले बताउनुभयो ।
यस वर्ष पानी कम परेकाले तत्कालको जोखिम केही घटेको छ, तर रतुवा खोलाको तटबन्ध र पुल निर्माणको जिम्मा लिएको विभागले अहिलेसम्म ठेक्का अनुसारको काम सम्पन्न गर्न सकेको छैन। दमक नगरपालिकाका प्रवक्ता तथा वडा नं. ८ का अध्यक्ष धर्म प्रसाद दाहाल आगामी दिनमा थप संरचनात्मक सुधार गर्ने योजना रहेको बताउनुहुन्छ ।
दमक–८ मा देखिएको अहिलेको परिस्थितिले पूर्वतयारी अभावका कारण वर्षा याम सुरु भएपछिका समस्या बारम्बार दोहोरिने सङकेत गरेको छ यस पटक पानीको मात्रा कम भए पनि लगातार वर्षा जारी रह्यो भने बाढीको खतरा बढ्ने सम्भावना उत्तिकै छ । तटबन्ध निर्माण, पुल मर्मत र बिजुलीका पोलको संरक्षण जस्ता काम जोखिम आउनु अघि नै सम्पन्न हुनुपर्ने हो, तर ढिलासुस्ती र समन्वय अभावले गर्दा समस्या टार्नु भन्दा पनि पछि मात्रै समाधान खोज्ने प्रवृत्ति दोहोरिँदै आएको छ। दीर्घकालीन सुरक्षाका लागि तटबन्ध मजबुत बनाउने, पुलको संरचना सुधार्ने, र विद्युत् पूर्वाधार सुरक्षित गर्ने काम तत्काल सुरु गर्न आवश्यक छ ।









