दमक, १४ मंसिर / लेख्ने कुरामा कँही न कँही र केही न केहीले प्रभाव पार्छ । विशेष गरी दुःख र पीडाले सृजना जन्माउने गर्छ । २०४६ सालमा आमा दमयन्ता भट्टराईको निधनले उहाँमा जीवनकै ज्यादै ठूलो असह्य पीडा भयो । सानैदेखि गीत सुन्ने र गीत गुनगुनाउन रुची राख्ने टीका भट्टराई नेपाललाई आमाको वियोगको पीडा केही न केही लेख्नेतर्फ रुपान्तरित भयो । फलस्वरुप उहाँले आमाको शोकमा २०५६ सालमा पहिलो कृतिका रुपमा शोककाव्य ‘आमाको माया’ प्रकाशन गर्नुभयो । गीत पनि लेख्दै गर्नु भएकी उहाँले त्यसपछि लगातार गीत लेखनमै केन्द्रित भएर २०७६ मा ‘तस्वीर तिम्रो’ गीति एल्बम निकाल्नु भयो । २०७७ मा गीत संग्रह ‘प्रीति पुष्प’ र सोही साल गीति एल्बम ‘प्रीति’ निकाल्नु भएपछि उहाँ गीतकारका रुपमा परिचित बन्नु भयो ।
विं सं. २०३० साल असोज १९ गते १० सन्तानकी सबैभन्दा कान्छी छोरीका रुपमा जन्म लिनु भएकी टीकाको भावुक स्वभाव र सृजनशील मनले हरेक संघर्ष अनि ठक्करमा अझ सृजना उमारिरह्यो । दृढ संकल्पित उहाँले पारिवारिक रथ डोर्याउने क्रममा २०५६ देखि २०७६ सम्म आफ्नै नगर कनकाईको सुरुङ्गामा मुद्रण व्यवसायमार्फत सफलता हाँसिल गर्दै आफैं मेसिन चलाउने मेचीकै पहिलो महिलाका रुपमा दर्ज समेत गर्यो ।
आमाको वियोगले छटपटाइरहेको अवस्थाको ११ औं वर्षको अन्तरालमा २०७७ सालमा बुबा गंगाराम भट्टराईले पनि छोडेर गएपछिको चिन्तालाई लेखनतर्फनै मोड्नु भयो । गीत लेखनको प्रभावबाट हौसला समेत प्राप्त हुँदै गएको अवस्थामा उहाँको लेखनको रफ्तार अझ बढ्यो । अनि २०७८ मा ‘मनका तरङ्गहरु’ र ‘सन्तानको माया’, २०७९ मा ‘अनुभूतिका स्वरहरु’, २०८० मा ‘मूर्च्छना’ र २०८१ मा ‘माटोको सुगन्ध’ गीति संग्रह प्रकाशित गरेर आफ्नो लेखनको प्रभाव विस्तार गरिरहनु भएको छ । ‘मूर्च्छना’ त २०८० साल फागुन १७ गते ताप्लेजुङको पाथीभरा मन्दिर परिसरमा विमोचन गरेर त्यस परिसरमा पुस्तक विमोचन गर्ने पहिलो सर्जक बन्नु भएको छ । बढी मात्रामा आक्षरिक छन्दका आधुनिक गीतहरु लेख्ने उहाँका हालसम्म ३० वटा गीत रेकर्ड भएका छन् । जसमा शिशिर योगी, नरेन्द्र प्यासी, यशोदा पराजुली, प्रमोद खरेल, मेनुका पौडेल, निशान भट्टराईसहितले स्वर दिनु भएको छ ।
सुमधुर स्वरकी समेत धनी टीकाले केही गीतमा त आफैंले स्वर भर्नु भएको छ । उहाँ उस्तै प्रभावकारी गजल समेत लेख्नु हुन्छ ।
सहयात्री दर्पण नेपाल, कुलदीप राजवंशी स्मृति कला उत्थान प्रतिष्ठान, कनकाई नगरपालिका कार्यालय, हिमालय इन्टरनेशनल म्यूजिक अवार्ड, गीतकार संघ नेपाल, ब्राण्ड यु पिक्चर्स प्रालि तारकेश्वर कला प्रतिष्ठान काठमाडौंसहितबाट सम्मानित र पुरस्कृत भएर लेखनमा उर्जा भरिरहनु भएको छ । उहाँसँग उज्यालो खबरको कार्यक्रम ‘अनुशीलन’को ५३ औं शृंखलामा गरिएको भलाकुसारीसहित सृजना प्रस्तुतिको भिडिओ हेर्नुहोस् :









