धनकुटा, १६ मंसिर । धनकुटामा भएको शैक्षिक भ्रमणको बस दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका बस चालक सुनसरी रामधुनी नगरपालिका –१ बस्ने ६० वर्षीय भुवन चौधरीको बिराट टिचिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा आज बिहान ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। दुई दिनअघि धनकुटा नगरपालिका –७ रमाईलो घुम्तीस्थित कोशी लोकमार्गमा तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको सुनसरी रामधुनी नगरपालिका ५ स्थित पिंक लोटस इङ्लिस बोर्डिङ स्कुलको शैक्षिक भ्रमणबाट फर्किदै गरेको को १ ख ५३१३ नम्बरको स्कुल बस अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा २७ जना घाइते भएका थिए । घाइतेमध्ये २५ जना डिस्चार्ज भइसकेको र हाल २ जना घाइते विद्यार्थीहरुको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले बताएको छ ।










