दमक, २२ मंसिर । डाफेमुनालको मुख्य चोक। सहरको व्यस्तता, गाडीको हरन, मानिसको चहलपहलबीच एक कुनामा सिंगो हिमाल र पहाड झरे जस्तो देखिन्छ।रङ्गीचङ्गी साना–ठूला पोका, सुकेको जडिबुटी, धुलोमा बसेको औषधिको सुगन्ध… यहाँ बेचिँदैछ, हिमालको शक्ति।
मोरिंगा लिफ पाउडर, पिसाब पोल्दा खाने जडिबुटी, लडेको–मरकेको, अल्सर, चोटपटक देखि पेटका रोगसम्मका प्राकृतिक औषधि। हेर्दैमा लाग्छ, यी सामान किन्दा मानौं मानिसले भरोसा पनि सँगै किन्दैछन्।
दमक जस्तो सहर। अस्पताल छन्, फार्मेसी छन्, आधुनिक उपचारको सुविधा छ। तर प्रश्न उठ्छ त्यसै पनि किन मानिस जडिबुटीतर्फ फर्किँदै छन? यसको जवाफ खोज्दै पुगेका छौं दमकमा लामो समयदेखि जडिबुटी व्यवसाय गर्दै आउनु भएका नुर्वु भोटे कहाँ।
“कोरोनापछि मानिसमा ठूलो परिवर्तन आएको छ। रसायनिक भन्दा पनि प्राकृतिक औषधि प्रति विश्वास बढेको छ। अर्गानिक भएकाले शरीरलाई असर गर्दैन भन्ने लाग्छ, त्यसैले ग्राहक बढेका छन्।”
नुर्वु भोटेले तराई देखि हिमाल–पहाड सम्म उत्पादन भएका जडिबुटी यहाँ ल्याएर बेच्नु हुन्छ।उहाँको स्टलमा भेटिन्छ— गाउँ, जंगल र जीवनको गहिरो सम्बन्ध।
यस्तै, सङ्खुवासभाबाट जडिबुटी बोकेर आउनु हुने साङजुङ भोटे पनि यही चोकमा भेटिनु हुन्छ।
“ठूलो ओखती, चिम्ले किरा जस्ता धेरै जडिबुटी ल्याउँछु। लडेको, चोटपटक लागेको, अल्सर भएका विरामीका लागि धेरैले खोज्नु हुन्छ।”दमकमा ठूला अस्पताल छन्। डाक्टर छन्। औषधि छन्। तर पनि मानिसको मन प्रकृतितर्फ फर्कि रहेको छ। किनकि मानिसमा एउटा विश्वास पलाएको छ त्यो हो रोग रसायनले होइन, प्रकृतिले निको पार्छ।
यदि सरकार सोयमले देशमा उत्पादन भएको जडिबुटीको वैज्ञानिक प्रयोग र प्रशोधन सुरु गर्ने हो भने, विदेशी औषधि माथिको निर्भरता घट्ने थियो र नेपालमै अर्गानिक औषधि उद्योग फस्टाउने थियो। हिमालको जडिबुटी, तराईको बजार, र जनताको बढ्दो भरोसा यो केवल व्यापार मात्र होइन, यो मानिस र प्रकृतिबीचको पुनः जोडिएको सम्बन्ध हो।









