दमक, २४ मंसिर । वर्षौंदेखि देशविहिन र नागरिकविहिन बनेका भूटानी शरणार्थीहरुले आफ्नो पींडा विसाउने थलो कतै भेटेका छैनन् । तेस्रो देश पुनर्वासको क्रम रोकिएको एक दशक पुग्न लाग्दा पनि झापाको बेलडाँगी र मोरङको पथरीस्थित शिविरमै छुटेका यी शरणार्थीमध्ये अधिकांश आफै जन्मेको माटोमा प्राण विसाउने चाहना राख्छन् । तर, उहाँहरुको यो चाहना न त शरण दिने नेपाल सरकारले सुन्न सकेको छ, न त भूटानी नरेशले नै । दातृ निकायका रुपमा उपस्थित यूएन एचसी आरले हात झिकेपछि बिहान बेलुकाको छाक टार्न पनि नसक्ने अवस्थामा शिविरका छाप्रा रुँगिरहेका भेटिन्छन् । तैपनि उहाँहरुमा अझै आफ्नो माटो छुने रहर मरेको भने छैन ।
स्वदेश फिर्तीको अडान नछोड्नेमध्ये अधिकांशको भित्री पीडा उस्तै उस्तै छ । शरणार्थी जीवन, आफ्नो माटोप्रतिको मोहसँग स्वदेश फर्कन पाइने आशाको त्यान्द्रोलाई केहीले कविताको माध्यमबाट पनि पोखेका छन् ।
यो थियो –७७ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाउने कार्यक्रम । बेलडाँगी शिविरमा भेला भएका यी शरणार्थीहरुलाई सान्त्वना दिन केही अधिकारवादीहरु पनि त्यहाँ पुग्नुभएको थियो । उहाँहरुले शरणार्थीले भोगेका दुःखपींडालाई अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउने पहलकदमी लिने आश्वासन दिनुभएको छ ।
जेहोस्, शिविरभित्रको दुःखकष्ट झेल्दै आएका यी शरणार्थीको अधिकारका क्षेत्रमा बेला बेला भए पनि आवाज उठिरहेकै छ । तर, यी आवाजहरु नेपाल र भूटान सरकारको कानसम्म चाहिँ कहिले पुग्ने हो कुन्नि ?









