मोरङ,११ पुस। मोरङको बुढिगंगा गाउँपालिका–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । विश्वविद्यालय प्रशासनले चार जना विद्यार्थीलाई निलम्बन गरेको विरोधमा शुक्रबार बिहानदेखि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् ।
डिप्लोमा तेस्रो वर्षमा अध्ययनरत चार जना विद्यार्थीले गत पुस ७ गते कलेजमा अभद्र व्यवहार गरेको भन्दै विश्वविद्यालयले उनीहरूलाई निलम्बन गर्ने निर्णय गरेको थियो । प्रशासनको उक्त निर्णय अन्यायपूर्ण रहेको भन्दै आक्रोशित करिब १०० जनाको संख्यामा रहेका विद्यार्थीहरूले विश्वविद्यालयको मूल गेटमा नाराबाजी गर्दै तालाबन्दी गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान ९ः३० बजेदेखि सुरु भएको विरोध प्रदर्शन र हो–हल्लाका कारण विश्वविद्यालयको पठनपाठन र प्रशासनिक कार्य प्रभावित भएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय नेमुवाबाट प्रहरी नायब निरीक्षक (सई) अशोक कार्कीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको छ । अहिले प्रहरीले विश्वविद्यालय प्रशासन र आन्दोलित विद्यार्थीबीच समन्वय गराई परिस्थिति सहज बनाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ।









