झापा,११ पुस । पूर्व–पश्चिम राजमार्गलाई ‘एशियन हाइवे’ मा स्तरोन्नति गर्ने कार्य तीव्र गतिमा हुनुपर्नेमा उल्टै यात्रु र स्थानीयका लागि सास्तीको विषय बनेको छ । झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म चार लेन सडक विस्तार भइरहे पनि निर्माणमा देखिएको लापरबाहीले दुर्घटना र प्रदूषणको जोखिम बढाइ रहेको छ ।
सडक निर्माणका क्रममा नियमित पानी नहाल्दा उड्ने धुलोले यात्रु र सडक आसपासका बासिन्दा हैरान छन् भने कतिपय ठाउँमा पानी धेरै हाल्दा सडक चिप्लो भई दुई पाङ्ग्रे सवारी साधन दुर्घटना हुने गरेको छ। विशेष गरी सडकमा बनाइएका असुरक्षित ‘डाइभर्सन’ मृत्युको पासो बन्न थालेको छ।
गत पुस ५ गते मात्रै बिर्तामोडस्थित गिरिबन्धु चिया बगान नजिकैको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा भद्रपुरका २५ वर्षीय भुपाल अधिकारी र शीर्षक सुवेदीको ज्यान गएको छ । सोही दिन मेचीनगरमा चिप्लो सडकका कारण स्कुटर दुर्घटना हुँदा एक जना घाइते भएका छन्। यसरी निर्माण कम्पनीको लापरबाहीले एकपछि अर्को गर्दै मानवीय क्षति भइरहेको पाइएको छ ।
सडक विस्तारको ठेक्का लागेको दुई वर्ष बित्न लाग्दा पनि भौतिक प्रगति करिब ३० प्रतिशत मात्रै भएको देखिएको छ। तीन वर्षमा सम्पन्न गर्ने गरी २०८० कात्तिक २ मा सम्झौता भएको यस आयोजनाको म्याद २०८३ माघ १९ सम्म छ। अब बाँकी १३ महिनामा ७० प्रतिशत काम सम्पन्न गर्नुपर्ने ठुलो चुनौती छ।
एशियाली विकास बैंक (एडीबी) को ८४ दशमलब ९ प्रतिशत (३०० मिलियन डलर) ऋण सहायता र नेपाल सरकारको १५ दशमलब १ प्रतिशत लगानीमा यो सडक विस्तार भइरहेको छ। काँकडभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटरमध्ये हाल सुनसरीको लबीपुरसम्म ९५ दशमलब७६ किलोमिटर खण्डमा मात्रै ठेक्का लागेर काम भइरहेको छ।
यो आयोजनालाई पूर्वी र पश्चिम गरी दुई खण्डमा विभाजन गरिएको छ। पूर्वी खण्ड अन्तर्गत काँकडभिट्टादेखि झापाकै सीतापुरीसम्मको ४५ किलोमिटर र पश्चिम खण्ड अन्तर्गत केर्खादेखि सुनसरीको लबीपुरसम्मको ५० दशमलब ७६ किलोमिटर सडक पर्दछ। निर्माण कार्य सुस्त हुँदा र सुरक्षा मापदण्ड पालना नगर्दा यस खण्डमा यात्रा गर्ने हजारौँ यात्रुले दैनिक कष्ट भोग्न बाध्य रहेका छन्।









